कांग्रेस नेता पौडेल उपत्यका बाहिर रहेपछि बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको आजका लागि तोकिएको केन्द्रीय कार्य समितिको बैठक बस्दै नबसी स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बस्ने भनिएको बैठक अधिकांश नेताहरू केन्द्रीय राजधानी बाहिर भएकाले स्थगित गरिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ष्णप्रसाद पौडेलले जानकारी दिए ।

अर्काे बैठक वैशाख ९ गते बिहान ११ बजेका लागि तोकिएको उनले बताए । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समिति बैठक चैत १६ गते पार्टीेका नेता खुमबहादुर खड्काको निधनमा स्थगित गरिएपछि सो बैठक आज बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवरोधले काठमाडौं उपत्यका बाहिर रहनुभएका नेताहरू आज राजधानी आउन नसकेपछि आजको बैठक स्थगित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ ।

त्रिभुवन विमानस्थलमा बिहीबार राति मालिन्दो एयरको विमान उडानका क्रममा चिप्लिएर धावनमार्गबाट बाहिर गएपछि विमानस्थल केही समयका लागि बन्द भएको थियो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत केन्द्रीय सदस्यहरू पार्टीका विभिन्न कार्यक्रमका लागि उपत्यका बाहिर छन् । यसअघिको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेको सम्बन्धमा पक्ष विपक्षमा तर्क राखेका थिए ।

गत मंसिर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसले नराम्रो हार व्यहोरेको थियो ।

Published : Friday, 2018 April 20, 6:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया