‘मेरो बद्नामी गरिरहेका छन्, प्रतिवाद गर्नुस्’

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरणलाई लिएर निर्णायक मोडमा नाटकीय उतारचढाव आउने गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एकपटक एमालेतिर बन्दुक सोझाइदिएका छन् ।

आफू पार्टी एकीकरणको लागि इमान्दार भएपनि एमालेका केही नेताहरूले ‘मेरो बद्नामी गरिरहेका छन्’ भनेर असन्तुष्टि जनाएका छन् । प्रचण्डले एमालेका आरोपहरूको खण्डन गर्न निर्देशन पनि दिएका छन् ।

एमालेलाई भन्दा पनि पार्टी एकीकरणका लागि प्रचण्डलाई ठूलो दवाव छ । एमालेको राम्रो संगठन छ । एमालेलाई पार्टी एकीकरण नगरे पनि कुनै असर पर्दैन । तर, कमजोर संगठन रहेको माओवादीलाई पार्टी एकीकरण बाध्यकारी बन्न पुगेको छ । प्रचण्डले बेलाबेला माओवादीको संगठनलाई लिएर चिन्ता जनाउने गरेका छन् । प्रचण्डपछि माओवादीको नेतृत्व लिने दोस्रो तहको नेता नभएकै कारण माओवादीलाई एमालेसँग एकीकरण अनिवार्य जस्तै छ ।

प्रचण्डले एमालेसँग पार्टी एकीकरण गर्दा केन्द्रीय कमिटीमा लगभग समान हैसियत, जसले गर्दा भोलि एमालेभित्रैका ओली बिरोधीको साथ लिएर बहुमतमा पुग्न सकियोस् भन्ने इच्छा राखेका छन् । माओवादीका एक नेताले भने,‘एमालेलाई भन्दा पनि माओवादीलाई पार्टी एकीकरण गर्नुपर्ने बाध्यता छ । माओवादीको कमजोर संगठन छ । एमाले मजबुद छ । नेता कार्यकर्ता संरक्षण गर्नका लागि पनि पार्टी एकीकरण गर्नुपर्छ ।’

आगामी दुई वर्षपछि हुने एकता महाधिवेशनबाट आफूलाई अध्यक्ष बनाउन एमाले नेताहरू सहमत हुनुपर्ने, जसले गर्दा संख्याको बलमा पूर्व एमाले समूह बिगतमा माक्र्सवादीमाथि हाबी भएजस्तो नहोस् भन्ने चाहना प्रचण्डको छ । ओली प्रधानमन्त्री रहुञ्जेल आफूले कार्यकारी अधिकार प्रयोग गर्न पाइयोस् तथा जसले गर्दा यो बीचमा एकीकृत पार्टीमा आफ्नो प्रभाब र दबाब बलियो बनाउन सकियोस् भन्ने चाहना प्रचण्डमा लुकेको नेताहरूको भनाइ छ ।

‘प्रधानमन्त्री पद आधा आधा कार्यकाल बाँड्न ओलीले लिखित सहमति गरुन् । जसले गर्दा बिगतमा जस्तो भद्र सहमतिमा धोखा नहोस्’, माओवादीका एक नेताले भने । यी चार विषयमा प्रचण्ड र ओलीबीच केही सहमति भएको दाबी नेताहरूको छ । जसका बारेमा दुवै पार्टीका केही शीर्ष नेतालाई मात्र जानकारी दिइएको छ । ओलीले प्रचण्डलाई २ वर्षपछिको अध्यक्ष ग्यारेन्टी गर्न सकेनन् । तर, तीन वर्षपछि प्रधानमन्त्री पद हस्तान्तरण गर्न भने सहमति जनाए ।

प्रचण्ड दुई वर्षका लागि प्रधानमन्त्री हुने भद्र सहमति भएको छ । यसलाई लिखितरुपमा सार्वजनिक गर्दा सरकार कमजोर नहोस् भन्नेमा दुबै पक्ष सहमत भएका छन् । प्रचण्डले आधा–आधा कार्यकाल मागे पनि अन्तिममा २ वर्षमा सहमति भएको हो । केन्द्रीय कमिटीमा बराबरी हैसियत नभए पनि माओवादीले कम्तिमा ३८ देखि बढीमा ४२ प्रतिशतसम्म हिस्सा पाउनेछ । पार्टी एकतापछि झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरूको साथ पाएर ओलीमाथि हाबी हुन सक्ने प्रचण्डको आँकलन रहेको नेताहरूको भनाई छ ।

केन्द्रीय कमिटीमा जस्तो समायोजन तल्ला कमिटीहरूमा भने नहुने भएको छ । तल्ला कमिटीहरूमा जहाँ जुन पार्टीको बर्चश्व छ, सोही पक्षले नेतृत्व लिने गरी एकीकरणको मोडालिटीमा सहमति भएको छ । कुरा मिल्यो भने अबको दुई सातापछि पार्टी एकीकरण हुन सक्ने माओवादी नेता रामदीप आचार्यले बताए । जेठ पहिलो साताभित्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता हुनेछ ।

Published : Thursday, 2018 May 10, 11:31 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया