राजसंस्थाबारेमा स्पष्ट बोल्न सकेन राप्रपा (प्रजातान्त्रिक)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले राजसंस्थाका बारेमा स्पष्ट रुपमा केही निर्णय नै नगरी संगठन सुदृढीकरणमा जाने निर्णय गरेको छ ।

वैशाख २५ देखि २७ गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले राजसंस्थाका बारेमा स्पष्ट रुपमा मुख खोल्न सकेन ।

बैठकमा केशरबहादुर विष्ट सहितको समूहले राजसंस्थाका बारेमा स्पष्ट धारणा बनाएर जनताका माझ जानुपर्ने धारणा राखेका थिए । तर, बैठकले विष्ट समूहको राजसंस्था सम्बन्धी धारणालाई बेवास्ता गरेको छ ।

यद्यपि, राप्रपा (प्रजातान्त्रिक)ले मौनरुपमा परम्परागत संस्थाहरूलाई संरक्षण र सम्बर्धनमा संकेत पनि गरेको छ ।

बिहीबार सम्पन्न बैठकपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पशुपति शम्शेर राणाले राजसंस्थाका बारेमा दस्तावेजले नबोले पनि त्यसलाई पार्टीभित्र सम्मान गरिने बताए ।

‘राजसंस्थाका बारेमा बोलिरहनु पर्दैन । केही कुराले त्यसलाई संकेत गर्छ’, सम्वाददाताहरूको प्रश्नको जवाफ दिँदै उनले भने, ‘सुन्दर फूलको भाव आफै बुझ्नु पर्छ । सुन्दर फूललाई सुनको जलप लगाउनु पर्दैन ।’

धर्म संस्कृतिलाई पनि राप्रपा (प्रजातान्त्रिक)ले संरक्षण गर्ने निर्णय गरेको छ । अध्यक्ष राणाले भने, ‘पार्टीले आफ्नो सिद्धान्तिक आधारको रुपमा सम्वर्धनवादी उदारवादलाई ग्रहण गरेको छ ।’

मुलुकमा वाम गठबन्धनले वर्चश्व कायम गरेको तथ्यलाई हेरी अब प्रजातान्त्रिक पक्षलाई शसक्त गठबन्धन बनाइ प्रजातान्त्रिक मूल्य र मान्यताको लागि सबै मोर्चामा संघर्ष गर्नुपर्ने संकल्प गरिएको अध्यक्ष राणाले बताए ।

त्यसैगरी रापप्रपा (प्रजातान्त्रिक)ले समान विचारधार राख्ने, राप्रपा वृत्तलगायत एकताका पक्षधर अन्य पार्टीहरूसँग भैरहेको सम्पर्क सम्बन्धलाई अझै गम्भीर ढंगले अगाडि बढाउने निर्णय पनि गरेको छ ।

Published : Thursday, 2018 May 10, 2:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया