देउवा नराम्रोसँग पच्छारिए, पौडेल समूह मालामाल

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल ट्रेड युनियन कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले कब्जा जमाएको छ ।

नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पौडेल समूहबाट अध्यक्षमा उम्मेदवारी दिएका पुष्कर आचार्य विजयी भएका हुन् । आचार्यको समूह नै विजयी भएको छ ।

सभापति शेरबहादुर देउवा समूहबाट खिलानाथ दाहाल समूहले उम्मेदवारी दिएको थियो ।

आचार्यको समूहलाई वरिष्ठ नेता पौडेलका साथै कृष्णप्रसाद सिटौला र अर्जुन नरसिंह केसी लगायतका नेताहरूको समर्थन थियो ।

अध्यक्षमा निर्वाचित आचार्यले ८ सय १८ मत ल्याएका थिए । निकटतम प्रतिद्वन्द्वी दाहालले ५ सय ३३ मत ल्याएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरूमा देउवा पक्षको यो अर्को हार हो । यसअघि कर्मचारी, शिक्षक, इञ्जिनियरिङ संगठनमा देउवा समूहको हार भइसकेको छ ।

ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ र उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर निर्वाचत भएका छन् ।

महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित भएका छन् । उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

२७ केन्द्रीय सदस्य निर्वाचित पनि भएका छन् । सिंगो कार्यसमितिमा देउवा समूहका एक जना मात्र केन्द्रीय सदस्य विजयी भएका छन् ।

कूल एक हजार ४ सय २० मतदाता रहेको ट्रेड युनियन कांग्रेसमा एक हजार ३ सय ९८ मत खसेको थियो ।

Published : Saturday, 2018 June 16, 7:18 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया