त्रिभुवन विमानस्थलमा एयर इन्डियाको जहाज धावनमार्गमा रोक्कियो

काठमाडौं । एयर इन्डियाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अडकिएको छ ।

मंगलबार काठमाडौंबाट दिल्लीका लागि उड्ने तरखरमा रहेको जहाज धावनमार्गमा अडकिँदा ५० मिनेट बन्द भएको विमानस्थलका प्रवक्ता सुवास झाले बताएका छन् ।

जहाज धावनमार्गमा अडकिएका कारण धनगढीबाट काठमाडौं आउँदै गरेको जहाज भैरहवा र नेपालगन्जबाट काठमाडौं आउँदै गरेको अर्को जहाज पोखरा डाइर्भट भएका थिए ।

कोटेश्वरतर्फको धावनमार्गबाट उत्तर हुँदै पश्चिमतर्फ उड्ने तयारीमा रहेको एयर इन्डियाको एयरबस ए३२० विमानको पाङग्रामा समस्या देखिएपछि जहाजलाई तानेर फेरि विमानस्थलको पार्किङमा ल्याइएको थियो ।

दिउँसो ४ बजेर १३ मिनेटमा १ सय ७९ यात्रुसहितको एयर इन्डियाको जहाज कोटेश्वरतर्फको धावनमार्गको विन्दुमा अड्किएपछि करीव ५० मिनेट आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द भएको थियो ।

जहाजलाई ट्याक्टरले तानेर पार्किङमा ल्याइएको छ । धावनमार्गमा ठूलो जहाज अडकिएपछि कतार र बैंककबाट आउँदै गरेका दुइटा अन्तर्राष्ट्रिय जहाज सिमराको आकासमा फन्को लगाउनु परेको छ ।

६ वटा आन्तरिक उडानका जहाज पनि काठमाडौं अवतरण हुन नसकेर सिमरा र काठमाडौं आसपासको आकासमा होल्डमा राखिएका थिए ।

धनगढीबाट काठमाडौं आउँदै गरेको श्री एयरलायन्सको बमबार्डियर ड्यास–४०० जहाज पोखरा र नेपालगन्जबाट आउँदै गरेको यतिको एटीआर जहाजले भैरहवामा आकस्मिक अवतरण गर्नु परेको थियो ।

ल्याण्डिङ गियरमा समस्या देखिएको एयर इन्डियाको जहाजलाई प्राविधिकहरूले बनाएपछि जहाज साँझ साढे ७ बजे सबै यात्रु लिई दिल्ली फर्केको छ ।

Published : Tuesday, 2023 August 15, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया