ढोरपाटनमा बालेन-हर्कले भन्दा राम्रो काम गरिरहेका कांग्रेसबाट निर्वाचित कार्यबाहक नगरप्रमुख कल्याण

काठमाडौं । बाग्लुङको ढोरपाटन–सालझण्डी सडकअन्र्तगत पर्ने बुर्तीबाङ–ढोरपाटन खण्डमा पटक पटक ताकेता गर्दा समेत ठेकेदारले काम नगरेपछि ढोरपाटन नगरपालिकाका कार्यबाहक नगरप्रमुख धनबहादुर कायत ‘कल्याण’ आफै मर्मत सम्भारमा उत्रिएका छन् ।

सडक निकै जोखिमपूर्ण भएको भन्दै कार्यवाहक नगरप्रमुख कायतसहितको टोली सडक मर्मतमा जुटेको हो । ३ वर्षभित्र सडक ग्राभेलिङ गर्ने गरि जिम्मा पाएको ओम बुद्ध कन्ट्रक्सन ठेकेदार कम्पनीले म्याद सकिन लाग्दै गर्दा पनि ५ प्रतिशत काम गरेको छैन ।

पटक पटक ताकेता गर्दा समेत बेवास्ता भएपछि सहयोगीहरूका साथै सडक मर्मतमा आएको कायतले बताए । निर्माणका औजारसहित नगरप्रमुख कायतले सडक मर्मत गर्नेछन् ।

कायतले भने, ‘आउ साथी एकदिन जनश्रम गरौं । हाम्रो बाटो, हाम्रो माटो । बिरोध गर्नेहरूको पछाडि लाग्ने भए परिणाम निकाल्न मुस्किल पर्छ बिरोधी कै कारण सफलतामा पुग्न सजिलो माध्यम हुनेछ ।’

‘ठेकेदारको लापरबाहीले हाम्रो ठाउँ निकै ओझेलमा परेको अवस्था छ’, कायतले भने, ‘बागलुङ जिल्लाले संघ र प्रदेश गरी एक दर्जनभन्दा बढि माननीय त पायौं । बाग्लुङले विकास पाएन ।’

उनले भने, ‘बुर्तीबाङदेखि ढोरपाटन देउराली सम्मको सडक अप्ठ्यारो र खाल्डाखुल्डी भएको ठाउँमा ढुङ्गा सोलिङसहित चोक्कर राख्दै जति सकिन्छ सडक बनाउने छौं ।’

‘मान्छेको जात बाचुञ्जेल राम्रो काम गरेको गुणगान गाउने चलन त छैन । मरेपछि एकदिन अवश्य गुणगान गाउने छौँ’, कायतले भने, ‘पानीको झरी नभनेर स्वास्थ्यमा समस्या हुँदाहुँदै पनि मनले मानेन आमा । जय ढोरपाटन ।’

वर्षातको समयमा सडक अवरुद्ध हुने, खाल्डा खुल्डी र चिप्लो सडकले दुर्घटना हुनेभन्दै नगरप्रमुख कायतले काम गर्न लागेको बताएका छन् ।

सडकको मर्मत हुन नसक्दा स्थानीय र पर्यटक ढोरपाटन पुग्नलाई सास्ति भएको छ । ढोरपाटन नगरपालिकाको वडा नं. ७ का वडाध्यक्ष धनबहादुर अदै, नगरपालिकाका कर्मचारी, स्थानीय बासिन्दा लगायतको सहयोगमा बाटो सडक मर्मत हुनेछ । ढोरपाटन नगरपालिका वडा नं. ७ को सेली खोला हुँदै बाटो मर्मतमा जुटेको टोलीले बिहान सबेरैदेखि साँझ ७ बजेसम्म सडक मर्मतको काम गर्नेछ ।

सेली खोला हुँदै ढोरपाटन नगरपालिका वडा नं. ९ को देउरालीसम्मको क्षेत्रमा पहिलो चरणमा खाल्डाखुल्डी पुर्ने काम गरिनेछ । कार्यबाहक नगरप्रमुख कायतले सडक निर्माणमा ढिलासुस्ती गरेर जनतालाई दुर्घटनामा मुखमा पुर्‍याउन खोज्ने ठेकेदार कम्पनीको एकएक हिसाब किताब ढोरपाटनका जनताले राखेको बताएका छन् ।

राज्यबाट निर्व्याजी मोभिलाइजेशन रकम लिएर मोजमस्ती गर्ने ठेकेदारलाई नियामक निकायले हदैसम्मको कारबाही गर्नुपर्ने कायतको भनाइ छ । कार्यबाहक नगरप्रमुख कायतले मोटाएर राज्य र जनतालाई ठगी गरिरहेका ठेकेदारहरूलाई राज्यले दिने २५ प्रतिशत मोभिलाइजेशन रकममा बैंकको व्याज लिनुपर्ने सुझाव दिएका छन् । मोभिलाइजेशन रकमले ठेकेदारहरू निकै टुप्पिएको उनले बताए ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ र धरान उप–महानगरपालिकाका नगरप्रमुख हर्कराज राईले भन्दा राम्रो काम गरिरहेका ढोरपाटन नगरपालिकका कार्यबाहक नगरप्रमुख कायतले दुर्गमको नगरपालिकामा काम गरिरहेका छन् । कायतलाई सञ्चारमाध्यमको नजरबाट टाढा छन् । सञ्चारमाध्यममा भन्दा पनि कायतले जनताको सेवा कसरी गर्न सकिन्छ भनेर काम गरिरहेका छन् ।

नेपाली कांग्रेसका युवा नेता समेत रहेका कायतले ढोरपाटन नगरपालिकामा लोकप्रिय मतसहित नगर उप–प्रमुखमा जित हात पारेका थिए । एमालेबाट निर्वाचित नगर प्रमुख देवकुमार नेपाली सहकारी काण्डमा करोडौं रकम हिनामिना गरेर फरार भएपछि ढोरपाटनको कमाण्ड कायतले सम्हालेका छन् ।

Published : Wednesday, 2023 August 16, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया