सुन तस्करी महरालाई बचाउन गृहमन्त्रीको दोहोरो चरित्र, कान्तिपुरले प्रमाण बाहिर ल्यायो
काठमाडौं । सुन तस्करी काण्डमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुल महराका बारेमा प्रमाणहरू जुटाउँदा पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले कारबाही हुनबाट जोगाएपछि धेरै कुराहरूमाथि प्रश्न उठेको छ ।
पूर्वसभामुख समेत रहेका महरा र उनको परिवारका सदस्यलाई कारबाही गर्न आनाकानी भएपछि गृहमन्त्री श्रेष्ठमाथि नै सुन तस्करी काण्डमा प्रश्न उठेको छ । चिनियाँ नागरिक दाओजिन वाङले तस्करीबाट पटक–पटक नेपालमा सुन भित्र्याएको सीआईबीको अनुसन्धानबाट खुलेको छ ।
विद्युतीय चुरोट (भेप) मा लुकाएर करिब ९ किलो सुन भित्र्याउनेमध्येका वाङ विगतदेखि सुन तस्करीमा संलग्न रहेको खुलेको छ ।
फरार रहेका चिनियाँ नागरिक वाङले तस्करीको सुन भित्र्याएको र त्यसबापत भरियालाई दिनुपर्ने कमिसनका विषयमा गरिएको कुराकानीको अडियो कान्तिपुर दैनिक पत्रिकाले फेला पारेको आफ्नो समाचारमा दाबी गरेको छ ।
अडियोअनुसार केही वर्ष पहिलेको प्रसंगलाई लिएर वाङ र भरियाबीच ५ मिनेटभन्दा बढी कुराकानी भएको समाचारमा उल्लेख छ ।
वाङसँग आफ्नो चिनजान फलफूल व्यापारीका रूपमा रहेको भनेर महराले सुन तस्करीको विषयलाई सामान्य रूपमा लिएर उम्किने प्रयास गरिरहेका छन् ।
महरासँगकै चिनजान तथा सम्पर्कको आडमा वाङ र उनको समूहले पटक–पटक तस्करीको सुन ल्याउने गरेको तथ्य भेटिएपछि गृहमन्त्री श्रेष्ठमाथि नैतिक दवाव परेको छ ।
पछिल्लो पटक भेपमा राखेर ल्याएको सुन छुटाउन वाङले उनै पूर्वसभामुख महरा र उनका छोरा राहुललाई प्रयोग गरेको पुष्टि भइसकेको छ ।
४ वर्षअघि तस्करीको सुन भित्र्याउन सघाएबापत पाउनुपर्ने ४२ लाख रुपियाँ नदिएको विषयमा भरियाले वाङसँग असन्तुष्टि पोखेका छन् । उनले बौद्धस्थित पोटाला होटलको नाम बारम्बार लिएका छन् । पोटालालाई चिनियाँ गिरोहले अपराधको सेल्टर बनाएको आशंका छ ।
भेप प्रकरणसँग जोडिएको सुन तस्करीबारे सीआईबीले महरा बाबुछोरासँग प्रहरीले सोधपुछसमेत गरेको छैन ।
कसैले प्रहरीसमक्ष बयानमा नाम लिएकै भरमा गृहमन्त्री श्रेष्ठको ठाडो आदेशका भरमा पक्राउ गरेर पुर्पक्षका लागि जेल चलान गरिएका छन् । महरा सुन तस्करीमा संलग्न रहेको टेलिफोन रेकर्डदेखि फोनको अडियो समेत बाहिरिँदा पनि कारबाही भएको छैन । गृहमन्त्री श्रेष्ठले दोहोरो चरित्र देखिाएको भनेर आलोचना भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया