कोरियाको सहयोगमा यस्तो बन्नेछ साईबर व्यूरोको भवन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले शिलान्यास गरेका छन् ।

बुधबार विशेष कार्यक्रमका बीच भवनको शिलान्यास गरिएको छ । मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क टाय योङ्ग र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा भवनको ताम्रपत्र अनावरण गरेका छन् । भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत भएको छ ।

राजदूत पार्कले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गरिनुपर्ने बताए । उनले आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको बताए । उनले अनुसन्धामा नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताएका छन् ।

सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको कुँवरले उल्लेख गरेका छन् ।

आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढीकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको आईजीपी कुँवरले बताएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने बताए ।

सुसज्जित साइबर व्यूरो निर्माण गर्न कोरियाली सरकार, कोईका र कोरियाली जनताको प्रशंसा गर्दै उनले निर्माण हुने भवन नेपाल र कोरियाबीच मित्रताको प्रतिकको रूपमा रहने बताएका छन् ।

कार्यक्रममा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) नेपालका कन्ट्री डाइरेक्टर मोहेनो कंगले शुभकामना मन्तव्य व्यक्त गर्दै यस प्रोजेक्ट अनुरूप नेपाल प्रहरीको साइबर व्यूरोको स्तोरन्नति र जनशक्तिको क्षमता अभिवृद्धि गरी साईबर अपराध नियन्त्रणमा प्रभावकारी ढंगबाट कार्य सम्पादन गर्न सहजीकरण हुने बताए ।

साईबर ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले स्वागत मन्तव्य व्यक्त तथा भवन निर्माण सम्बन्धमा संक्षिप्त जानकारी प्रस्तुत गर्दै मित्रराष्ट्र गणतन्त्र कोरिया सरकारको सहयोगमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोईका) द्वारा भवन निर्माण हुन लागेको बताए ।

Published : Thursday, 2023 August 31, 12:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया