‘महारानी भाउजु’ काण्डपछि बालेन डराए, अचानक डिलेटको बटन थिचेँ

काठमाडौं । ‘महारानी भाउजु’का कारण विवादमा परेका काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’ले सामाजिक सञ्जालबाट विवादित स्टाटस हटाएका छन् ।

बालेनले शनिबार राति ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ र ‘चोर सरकार’ भनेर लेखेका थिए । बालेनको सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि सोमबार बिहान फेसबुक र ट्वीटरबाट स्टाटस हटाएका हुन् ।

शनिवार राति पत्नी सविना काफ्ले चढेको महानगरपालिकाको सरकारी गाडीलाई ट्राफिक प्रहरीले चेकजाँच गरेको आक्रोशमा बालेनले अबदेखि गाडी रोकिएमा सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए ।

सामाजिक सञ्जालमा उनको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।

प्रहरीले जाँचको क्रममा अभद्र र अमानवीय व्यवहार गरेको बालेनको सचिवालयको दाबी छ । ट्राफिक प्रहरीले भने सबै नागरिकलाई जस्तै नियमित चेकजाँच गरेको र बालेनले भने जस्तो कुनै अभद्र व्यवहार नगरेको बताएको छ ।

कोटेश्वरमा चेकजाँच गर्ने क्रममा ट्राफिक प्रहरीले गाडी रोकेर सोधेको थियो । २२ देखि २७ सेकेण्ड मात्रै रोकिएको सरकारी गाडीका विषयमा बालेनले नभएको कुरा गरेर राजा बन्ने प्रयास गरेका छन् ।

बालेनले चढ्ने सरकारी गाडी उनकी पत्नीले चढ्ने अधिकार छैन । पत्नीले गाडी चढ्ने नै हो भने बालेनसँग बसेर यात्रा गर्नुपर्छ ।

बालेनले आफ्नी पत्नीलाई काठमाडौं महानगरपालिकाले नि:शुल्क उपलब्ध गराउने गरेको एम्बुलेन्समा चढाएको भए पनि हुने थियो । आफ्नी पत्नीलाई महानगरपालिकाको सरकारी गाडीमा चढ्न दिएर शक्तिको दुरुपयोग गरेका छन् ।

सरकारले बालेनको अराजक अभिव्यक्तिका विषयमा कारबाहीको प्रक्रिया चलाएको छैन । बालेनलाई हत्कडी लगाएर कारबाही गर्न पनि सामाजिक सञ्जालमा माग उठेका छन् । कारबाहीमा पर्ने र नगर प्रमुखको पद फुत्किने डरले बालेनले फेसबुक र ट्वीटरबाट विवादित स्टाटस हटाएको आरोप लागेको छ ।

Published : Monday, 2023 September 4, 1:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया