तरुण दलको संयमतालाई कमजोरी नठान्न चेतावनी, यादवमाथिको घटनाको भर्त्सना, झोलामा हतियार

काठमाडौं । नेपाली तरुण दलका अध्यक्ष विद्वान गुरुङले नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणको निन्दा र भर्त्सना गरेका छन् ।

बुधबार अध्यक्ष गुरुङले विज्ञप्ति जारी गरेर तरुण दलका पूर्वअध्यक्ष समेत रहेका सह–महामन्त्री यादवमाथि भएको खुकुरी प्रहारीको भर्त्सना गरेका हुन् ।

यादवलाई बुधबार रिपोर्टर्स क्लव नेपालको कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा नुवाकोट घर भएका श्याम सापकोटाले खुकुरी प्रहार गरेर घाइते बनाएका थिए ।

यादव नेपाल तरुण दलको पूर्व अध्यक्ष, पूर्व खानेपानीमन्त्री पनि हुन् । ‘नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि दिउँसै गुण्डागर्दी शैलीमा खुकुरी प्रहार गरि सांघातिक आक्रमण भएको कार्यको घोर भर्त्सना र निन्दा गर्दछु’, अध्यक्ष गुरुङले भनेका छन् ।

उनले भने, ‘नेपालको प्रहरी प्रशासन मुकदर्शक बनी भएको घटना नेपाल तरुण दलले सामान्य रुपमा नभएको महशुस गरेको छ ।’

‘दोषी नै नभएको व्यक्तिलाई पक्राउ गर्न अघिसर्ने नेपाल प्रहरी दिउँसै हात–हतियारसहित हिँडडुल गर्ने व्यक्ति चिन्न नसक्ने यस्तो कार्यको अब नेपाल तरुण दल चुप लागेर, सहेर बस्न सक्दैन ।’

गुरुङले भने, ‘हरेक समय नेपाली कांग्रेसको प्रभावशाली नेताहरूलाई छानीछानी आक्रमण गर्ने यो मनस्थितिको विषयमा नेपाल तरुण दलले नेपाल सरकारका प्रधानमन्त्री एवं नेपाल सरकार गृहमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँदछ ।’

‘नेपाल तरुण दलको संयमतामाथि यदि कोहि व्यक्ति, संस्था लाग्छ भने यो राष्ट्रमा आँधीबेहरीको मुचुल्का उठ्नेछ । र, हुन सक्ने परिस्थितिको जिम्मेवार स्वयं नेपाल सरकार एवं गृहमन्त्री रहने जानकारी गराउँदछौं’, अध्यक्ष गुरुङले चेतावनी शैलीमा भनेका छन् ।

सह–महामन्त्री यादवलाई भृकुटीमण्डपमा दिउँसै खुकुरी प्रहार भएको छ । काठमाडौंको मुटुमा शान्ति सुरक्षामाथि ठूलो चुनौती थपिएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठ पूर्वराजासँग मुक्तिनाथमा भारतीय धर्मगुरुको जन्मदिन मनाउन मुस्ताङ गएका छन् । यता, राजसंस्थाको पक्षमा नारा लगाएर श्याम सापकोटा नामक व्यक्तिले कांग्रेसका सह–महामन्त्री यादवमाथि सांघातिक आक्रमण गरेका छन् । एमसीसीको विरोधमा नारावाजी भएको छ ।

घटना निकै रहस्यपूर्ण रहेको कांग्रेसले पनि जनाएको छ । घटनाको पछाडि को–को छन् त्यसको अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने तरुण दलका अध्यक्ष गुरुङको माग छ ।

Published : Wednesday, 2023 September 6, 5:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया