गृहमन्त्री श्रेष्ठ ‘मम’ बोकेर सीआईबी किन पुगे ? झलकरामहरूको भाग्य खुल्यो

काठमाडौं । ठूलो परिमाणको सुन तस्करी काण्डका बेला गृहमन्त्री नारायणकाजी श्रेष्ठको गतिविधि शंकास्पद देखिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले करीव ६१ किलो सुन काण्डको अभियोग पत्र अर्थात प्रतिवेदन बुझाउनुभन्दा केही दिन अगाडि गृहमन्त्री श्रेष्ठ महाराजगञ्जस्थित सीआईबीको मुख्यालयमा गएका थिए ।

‘मम’ बोकेर सीआईबी गएका श्रेष्ठले अध्यागमन विभागका तत्कालीन प्रमुख झलकराम सुवेदीलाई उन्मुक्ति दिन सीआईबी प्रमुख (एआईजी) किरण बज्राचार्यलाई दवाव दिएको स्रोतले जनाएको छ ।

स्रोतले भन्यो, ‘गृहमन्त्री ज्यू अचानक राति ‘मम’ बोकेर आउनुभएको थियो । हामीले ‘मम’ खायौँ । सुन तस्करी काण्डमा शंकास्पद अध्यागमन विभागका तत्कालीन प्रमुख झलकराम सुवेदीलाई उन्मुक्ति दिन दवाव दिनुभयो ।’

सुन तस्करी काण्डमा मुछिएपछि विभागका तत्कालीन प्रमुख सुवेदीलाई गृह मन्त्रालयमा तानिएको थियो । सुवेदीलाई गृहमन्त्री श्रेष्ठले निकै माया गरेको चर्चा सिंहदरबारभित्र छ ।

सुवेदीको कनेन्सन करीव ६१ किलो सुन तस्करी काण्डका मुख्य अभियुक्त चिनियाँ नगारिक दावा छिरिङसँग देखिएको छ । सीआईबीले सुवेदी र छिरिङबीच निकै शंकाष्पद सम्बन्ध भेटाएको छ ।

सुवेदीलाई भदौ ७ गते मन्त्रालय तानिएको थियो । सुवेदीलाई बचाउन कसरी सकिन्छ भनेर चासो लिएर गृहमन्त्री श्रेष्ठ ‘मम’ बोकेर सीआईबी पुगेको स्रोतको आरोप छ ।

गृहमन्त्री श्रेष्ठले नै अधिकारीलाई प्रतिवादी नबनाउन सीआईबीकी प्रमुख (एआईजी) किरण बज्राचार्यलाई ठूलो दबाब दिएको स्रोतले जनाएको छ । गृहमन्त्री श्रेष्ठले सीआईबी प्रमुख (एआईबजी) बज्राचार्यको सरुवा रोकेका थिए । महानगरीय प्रहरी प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीको सरुवा भए पनि बज्राचार्यको सरुवा भएको थिएन ।

गृहमन्त्री श्रेष्ठको दबाबका कारण सीआईबीले अध्यागमन विभागका तत्कालीन प्रमुख सुवेदीलाई सामान्य बयान मात्रै लिएर छाडिदिएको छ । विगतमा भुटानी शरणार्थी प्रकरणमा बयानकै भरमा वा कसैले मुछेकै कारण बालकृष्ण खाणलगायतका मानिस थुनामा छन् । माओवादी निकटका कर्मचारीलाई गृहमन्त्री श्रेष्ठले बचाएका छन् ।

काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा सुवेदीलाई प्रतिवादी बनाइएको छैन । श्रेष्ठकै निगाहमा विभिन्न मालदार निकायको नेतृत्वमा पुगेका सुवेदी सुनकाण्डमा तानिए पछि गृहमन्त्री श्रेष्ठ समेत मुछिन सक्ने खतरा थियो ।

गृहमन्त्री श्रेष्ठले आफू समेत तानिने डरले ६१ किलो सुन काण्डको मुद्दा कमजोर बनाएको आरोप छ । सस्तो लोकप्रियताका लागि स्टन्ट गर्ने गृहमन्त्री श्रेष्ठको सीआईबी प्रवेश, झलकराम सुवेदी बचाउन खोज्दा हावा खुस्किएको छ ।

गृहमन्त्री श्रेष्ठले सीआईबी प्रमुख (एआईजी) बज्राचार्यलाई मन्त्रालयमा वा निवासमा बोलाएर सोधपुछ गर्न सक्थे । तर, गृहमन्त्री श्रेष्ठ ‘मम’ बोकेर सीआईबी किन पुगे ? ठूलो प्रश्न र आशंका उब्जिएको छ ।

गृहमन्त्री श्रेष्ठ सीआईबी ‘मम’ बोकेर आएको, झलकराम सुवेदीहरू बचाउन दवाव दिएको विषयमा सीआईबी, हेडक्वाटर र श्रेष्ठको सचिवालयले प्रतिक्रिया दिन मानेको छैन । गृहमन्त्री श्रेष्ठसँग प्रतिक्रिया लिन गृह मन्त्रालयको सचिवालयमा सम्पर्क गर्दा सम्पर्क हुन सकेन । सचिवालयको फोन उठेन ।

सीआइबीका प्रवक्ता नवराज अधिकारीले गृहमन्त्री श्रेष्ठ सीआईबीमा आएको कुरा आफूलाई जानकारी नरहेको बताएका छन् । उनले भने, ‘गृहमन्त्रीज्यू आउनुभएको कुरा मलाई जानकारी छैन । त्यस बेला सुनको जानकारी वा सूचना जानकारी दिने अधिकार पनि थिएन ।’

Published : Tuesday, 2023 September 19, 10:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया