केपी ओलीले दिएको रकमबाट १ करोड १७ लाख घोटाला, राईले भ्रष्टहरूको कठालो समाते

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व र हालका सदस्य सचिवसहित तीन जनाविरुद्ध जलहरी घोटाला काण्डमा अभियोग पत्र दर्ता गराएको छ ।

आइतबार आयोगले एक करोड १७ लाख बिगो दाबी गर्दै पशुपति क्षेत्र विकास कोषको जलहरी काण्डको मुद्दा दायर गरेको छ ।

पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा.प्रदीप ढकाल र कोषका तत्कालीन कोषाध्यक्ष हालका सदस्यसचिव डा.मिलनकुमार थापासहित तीन जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

आयोगले उनीहरूले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको जनाएको छ ।

त्यसबापतको एक करोड १७ लाख एक हजार सात सय ८१ रुपियाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

पशुपतिनाथको मुख्य मन्दिरमा जलहरी लगाउन तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले रकम दिएका थिए । जलहरी प्रकरणमा घोटाला भएको भन्दै कुरा उठेपछि अख्तियारले छानविन गरेको थियो ।

जलहरी प्रकरणमा अख्तियारले तत्कालीन प्रधानमन्त्री ओलीलाई छोएको पनि छैन । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई पनि कुनै मुद्दा लागेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले जलहरी घोटाला प्रकरणमा गम्भीर भएर अनुसन्धान र छानविन गर्न आदेश दिएका थिए । राईको आदेशपछि जलहरी प्रकरणले गति लिएको छ ।

Published : Sunday, 2023 October 1, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया