कोशीको राजनीतिलाई कांग्रेसले ट्रयाकमा ल्यायो, गठबन्धनकै हातमा आइपुग्यो बलियो परिस्थिति

काठमाडौं । नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका दलहरूले समर्थन गरेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

बुधबार बिराटनगरमा बसेको कोशी प्रदेशसभाको बैठकमा कांग्रेसका विद्रोही कार्कीले मुख्यमन्त्री पदमा विश्वासको मत पाएका हुन् । मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ । विपक्षमा ५ मत मात्र खसेको छ ।

कोशी प्रदेशको राजनीतिलाई लिएर कांग्रेसका सभापति शेरबहादुर देउवाले निकै चिन्ता प्रकट गरेका थिए । सत्ता गठबन्धनलाई बलियो बनाउँदै देउवाले जसरी पनि कोशीको सरकार गठबन्धनभन्दा बाहिर नजाओस् भन्ने चाहना राखेका थिए । सभापति देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको आन्तरिक सहमतिले कोशी गठबन्धनभन्दा बाहिर गएको छैन । नेकपा (एमाले) बाध्य भएर सरकारमा आउनु परेको छ । देउवा–दाहालको रणनीतिमा एमाले परेको छ । एमालेले दायाँबायाँ गर्‍यो भने त्यसको नोक्सानी एमालेलाई हुनेछ ।

कार्कीलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मत दिएको छैन । मतदानमा ९३ प्रदेशसभा सदस्यमध्ये ९१ जना सहभागी थिए । कार्की एमालेको समर्थनमा असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका हुन् । कार्की कांग्रेसका नेता शेखर कोइराला निकटका मानिन्छन् ।

विश्वासको मत पाएपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशमा सहमतिको सरकार बन्ने बताएका छन् । उनले सहमतिको सरकार गठनका लागि अधिकतम प्रयास हुने बताए ।

मुख्यमन्त्री कार्कीले मन्त्रिपरिषदमा एमालेका राम राना र कांग्रेसका शमशेर राईलाई सहभागी गराएका छन् । अब ६ जना मन्त्री चयन गर्न बाँकी छ ।

कांग्रेसका कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले आफ्नो बचन पूरा गर्न एमाले संसदीय दलका नेता हिक्मत कार्कीलाई आग्रह गरेका छन् । थापाले कांग्रेसका ८ जना प्रदेश सांसदले दलभित्र झगडा गरेको र युद्धकै मैदानमा उत्रिएको बताए ।

उनीहरूले युद्ध नै जितेर आएपछि आफूहरूले पनि स्वागत गर्दै विश्वासको मत दिने निर्णय लिएको नेता कार्कीले बताएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले केन्द्रमा जे निर्णय भए पनि प्रदेशको हितमा निर्णय गर्न आफू सक्षम रहेको दाबी गरेका छन् । उनले भने, ‘त्यो हामीले बिर्सिएका छैनौं । अब यहाँको निर्णय यो सरकारमा लागू होस्, शुभकामना दिन चाहन्छु ।’

नेकपा (माओवादी केन्द्र)का कोशी प्रदेशसभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले कोशी सरकारबाट एमाले चाँडै बाहिरिनुपर्ने बताएका छन् । आङ्बोले एमालेले गठबन्धनको कमजोरी र सरकार गठनसम्बन्धी संविधानको व्यवस्थामा टेकेर सरकारमा पुगेको बताएका छन् ।

आङ्बोले पत्रकारहरूसँग भने, ‘त्यसैले एमाले चाँडो भन्दा चाँडो सरकारबाट बाहिरिएर आफ्नो नैतिकता प्रदर्शन गरोस् ।’ मुख्यमन्त्री कार्की कांग्रेस सांसद भएर पनि गठबन्धनको भावना आत्मसात नगरेको भन्दै आङ्बोले आफूहरूले गठबन्धनको भावना अनुसार विश्वासको मत दिएको बताएका छन् ।

नेकपा (एमाले)का कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मध्यावधिको विपक्षमा रहँदासम्म सरकारलाई समर्थन गर्ने बताएका छन् ।

एमाले नेता कार्कीले आफूहरूको कदमले कांग्रेसमा मनमुटाव नबढाओस् भन्ने चाहेको बताए । उनले जबसम्म संघीयताको पक्षमा उभिन्छ र मध्यावधिको विपक्षमा रहन्छ, सरकारलाई समर्थनगरिरहने बताए ।

‘अहिलेपनि तपाईहरू सबै मिल्नुहुन्छ भने हामीलाई सरकार बाहिर बस्न कुनै आपत्ति छैन’, उनले भने, ‘एमालेका कारण गठबन्धनलाई अप्ठ्यारो परेको हो भने म आग्रह गर्न चाहन्छु, गठबन्धनएक ठाउँमा हुनुस्, हामीलाई बाहिर राखिदिनुस् ।’
कसैलाई बाहिर नराखी प्रदेशलाई अगाडि बढाउन पनि एमाले तयार रहेको एमालेका नेता कार्कीले बताएका छन् ।

कार्कीले भने, ‘सहकार्य र सहमतिका साथ अगाडि बढ्न तयार छौं । त्यसका लागि हाम्रा मूल्य मान्यताहरूलाई धरौटी राखेर संविधान कुल्चिएर तयार हुन्नौं ।’

Published : Wednesday, 2023 October 18, 7:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया