लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविरतर्फ लगियो

लुम्बिनी । हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ ।

नेपाल पर्वतारोहण संघले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे)ले शुक्रबार लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष डा.लामाले पूजा गरेको शान्ति दीप कार्यक्रम संयोजक, विश्व कीर्तिमानी आरोही काजी शेर्पा (स्पीड), नेपाल पर्वतारोहण संघका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोखेल र सगरमाथा आरोही संघका महासचित शिवबहादुर सापकोटालाई संयुक्तरुपमा हस्तान्तरण गरेका छन् ।

उपाध्यक्ष डा.लामाले विश्व शान्ति र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लुम्बिनीबाट दीप प्रज्वलन गरेर सगरमाथाको आधार शिविर पुर्‍याउँदा विश्वभरिनै सन्देश प्रवाह हुने बताए । उनले विश्व मानव जगतमा जलवायु परिवर्तनको असरसँगै द्वन्द्व पनि बढिरहेको अवस्थामा शान्ति भूमि लुम्बिनीबाट विश्वको सर्वोच्च शिखरमा दीप लैजाने कार्य गैरवको विषय भएको बताएका छन् ।

शान्ति दीपमा प्रज्ज्वलन गरिएको दीपलाई लामा गुरुहरुबाट स्वस्ति शान्ति गरी मायादेवी मन्दिर परिक्रमा गराइएको थियो ।

लुम्बिनीबाट लगिने दीप कात्तिक १९ गते साँझसम्ममा काठमाडौं हुँदै सगरमाथा आधार शिविर कालापत्थर पुर्याइने नेपाल पर्वतारोहण संघले जनाएको छ ।

नेपालको राष्ट्रिय झण्डा फहराउने र बौद्धबाट ल्याइएको दीपसमेत प्रज्ज्वलन गरिनेछ ।

कात्तिक २५ दिन एक समारोहका बीच कालापत्थामा सम्पन्न हुन गइरहेको कार्यक्रमबाट विश्वको ध्यान केन्द्रित हुने संघका पूर्वसचिव एवम् केन्द्रीय कार्यसमिति सदस्य दिवस पोख्रेलले बताए ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको हिमाल र हिमाली क्षेत्रमा परेको असरबारे राष्ट्र संघको आगामी बैठकमा छलफल गरी कार्बन उत्पन्न गर्ने धनी राष्ट्रहरूले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकाले कालापत्थरमा सम्पन्न हुने कार्यक्रम फलदायी हुने पोखरेलले बताए ।

Published : Friday, 2023 November 3, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया