प्यूठानमा अवकाश प्राप्त प्रहरीहरूलाई कृषि तालिम

प्यूठान । नेपाल प्रहरीले प्यूठानमा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको मनोसामाजिक स्वास्थ्य प्रवर्द्धन र आर्थिक सबलिकरण गरी मनोबल अभिवृद्धि गर्नका लागि अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लक्षित एक दिने कृषि सम्बन्धी स्थलगत तालिम र अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आत्म–हत्या न्यूनीकरण कार्ययोजना, २०८० अन्तर्गत रहि पुन:स्थापना–सीपमूलक एवम् व्यवसायिक तालिम, सहज पारिवारिक वातावरण तयार गर्ने हेतूले प्युठान जिल्लाका करिब ४० जना अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले सेवानिवृत्त जीवनमा सक्रिय जीवनशैली, पारस्परिक सद्भाव र सामुहिक सहकार्यले जीवनस्तर सबल हुने र मनोसामाजिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न गई अवकाश प्राप्त प्रहरी कर्मचारीहरुको व्यक्तिगत तथा पारिवारिक जीवनमा उल्लेखनीय सुधार हुने धारणा व्यक्त गरेका छन् ।

सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्युठानका कार्यालय प्रमुख चुमान सिंह गिरी र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख गणेश श्रेष्ठले व्यवसायिक कृषि, दर्ता प्रक्रिया, नेपाल सरकार एवं प्रदेश सरकारले कृषकहरुका लागि प्रदान गरेका अनुदानहरूका सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

उनीहरूले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूको जिज्ञासा तथा सवालहरूको समुचित जवाफ दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई प्यूठान र एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको सहयोग तथा समन्वयमा प्यूठान नगरपालिका–२ को सभाहलमा उक्त तालिम र अभिमुखिकरण कार्यक्रम गरिएको थियो ।

प्यूठान नगरपालिका–२ का वडाध्यक्ष एवं नेपाल पूर्व प्रहरी जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष मोहनसिंह बिष्ट लगायत अन्य कार्यपालिकाका सदस्यहरू समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा उपस्थित अवकाश प्राप्त प्रहरी कर्मचारीहरूलाई प्यूठानी रातो मूलाको बीउ समेत वितरण गरिएको थियो ।

Published : Saturday, 2023 November 4, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया