कांग्रेसले भूकम्प प्रभावित जनताको घाउमा मलहम लगायो, सभापति देउवाले सरकारलाई दिए ५० लाख
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भूकम्प प्रभावितहरूलाई उद्धार, राहत र पुनर्स्थापना गर्न आग्रह गर्दै सरकारलाई नगद ५० लाख रुपियाँ दिएका छन् ।
मंगलबार बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेर देउवाले कांग्रेसको तर्फबाट ५० लाखको चेक हस्नतान्तर गरेका हुन् ।
देउवाले कांग्रेसले भूकम्प प्रभावितका लागि दिएको रकम सहि ठाउँमा सदुपयोग गर्न अनुरोध गरेका छन् ।
प्रधानमन्त्री दाहाललाई ५० लाख हस्तान्तरण गर्न सभापति देउवाले साथमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई लिएर गएका थिए ।
कांग्रेसले भूकम्पका प्रभावितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा तत्काल ५० लाख दिने निर्णय गरेको थियो ।
कांग्रेसले यसअघि प्रतिनिधिसभाका सांसदहरूको १५ दिनको पारिश्रमिक पनि उपलब्ध गराउने निर्णय गरेको छ । कांग्रेसका भ्रातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले पनि सरकारलाई भूकम्प प्रभावितका लागि आर्थिक सहयोग गर्ने जनाइसकेका छन् ।
भूकम्पपछिका अवस्था अवलोकन र सहजीकरणको लागि कांग्रेसले महामन्त्रीद्वय थापा र शर्मा संयोजकत्वमा अनुगमन समितिसमेत गठन गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया