कान्तिपुरविरुद्ध पत्रकार महासंघले दियो काउन्सिलमा उजुरी, सिरोहियाको ओठमुख सुक्यो
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले कान्तिपुर मिडिया ग्रुपले कर्मचारी नियमावली र श्रमजीवी पत्रकार ऐन उल्लंगन गरी पत्रकार निकालेका कारण महासंघ त्यसविरुद्ध उत्रिएको बताएका छन् ।
बुधबार नेपाल पत्रकार महांघमा आयोजित आकस्मिक पत्रकार सम्मेलनमा अध्यक्ष पोख्रेलले भने, ‘कान्तिपुरले हिजो विज्ञप्तिमा के लेख्यो त्यसको पुष्टि गर्ने कुरा उसैको भयो तर, कान्तिपुरले कानून मान्नुपर्छ कि पर्दैन ?’
‘अरुका विषयमा प्रश्न उठाउनेले आफ्नो संस्थामा देखिएका श्रम समस्या हल गर्नुपर्छ कि पर्दै ? हाम्रो प्रश्न यही हो’, पोख्रेलले भने, ‘श्रमजीवी पत्रकार ऐन नेपालमा पत्रकार महासंघले गरेको ठूलो लडाइँपछि आएको कानून हो ।’
उनले भने, ‘त्यसको कार्यान्वयन गर्नु सरोकारवालाहरूको दायित्व हुन्छ, त्यो कार्यान्वयन गर भनेर हामीले कान्तिपुरलाई भनेको हौं ।’
अध्यक्ष पोख्रेलले पटकपटक मौखिक लिखित रुपमा भन्दा सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिन बाध्य भएको बताएका छन् ।
उनले यो आन्दोलन श्रम अधिकार, न्यायका र सत्यको आन्दोलन भएको भन्दै उत्तेजित नभइ न्याय प्रप्तिनहँुदासम्म जारी रहने कान्तिपुरलाई चेतावनी दिएका छन् ।
अध्यक्ष पोख्रेलले कान्तिपुरविरुद्ध जारी आन्दोलनमा नागरिक समाज तथा संघसंस्थाको ऐक्यवद्धता रहेको भन्दै कान्तिपुरले आफ्नो विश्वासनीयता खस्किनेगरी लाञ्छना लगाउँदै अघि बढे उसैलाई घाटा हुने चेतावनी दिएका छन् ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले कान्तिपुर मिडिया ग्रुपले ८२ जना पत्रकारलाई गैरकानूनी ढंगले निष्काशन गरेपछि महासंघको केन्द्रीय समितिको निर्णयानुसार पटकपटक त्यसो नगर्न, कानूनको पालना गर्न आग्रह गर्दा नमानेका कारण श्रमजीवी पत्रकारको सेवासुविधासहित अधिकार प्रप्तिका लागि आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।
विष्टले भने, ‘संविधानले व्यवस्था गरेको शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्ने, जानकारी गराउन पाउने संवैधानिक हक प्रयोग गर्दाखेरी अत्यन्तै आपत्तिजन ढंगले विज्ञप्तिको हबला दिएर समाचारमार्फत पत्रकार महासंघको छविलाई धुमिल बनाउने, महासंघको लामो इतिहासलाई लाञ्छित गराउने र श्रम अधिकारको पक्षमा कृयाशील संस्थालाई भ्रमित बनाउने र विषयान्तर गर्ने कान्तिपुर मिडिया ग्रुपको उदेश्य देखियो ।’
‘हामी यो कुरालाई खण्डन गर्न चाहान्छौँ’, वरिष्ठ उपाध्यक्ष विष्टले भनेका छन् । उनले कान्तिपुर मिडिया ग्रुपले महासंघलाई लगाएको आरोप पुष्टि गर्न समेत चुनौती दिएका छन् ।
श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले कान्तिपुरले कानून पालना गर्न बाध्यहुने स्थिति आन्दोलनले बनाउने बताएका छन् । उनले श्रमजीवी पत्रकार संघ, नेपाल अन्त्यसम्म महासंघसँगसँगै आन्दोलनमा रहने बताएका छन् ।
समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीले महासंघको जारी आन्दोलनप्रति ऐक्यवद्धता व्यक्त गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित समाचार बारेमा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता गराएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट, महासचिव रोशन पुरीसहित महासंघका अन्य पदाधिकारीको टोलीले प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाललाई भेटेर उजुरी पत्र हस्तान्तरण गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत भुसालले महासंघले नै पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी दिनु गम्भीर विषय भएको बताएका छन् । उनले आजैदेखि छानबिन थाल्ने बताएका छन् ।
पत्रकार महासंघले कान्तिपुरविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएपछि प्रेस काउन्सिलले समिति बनाएर कान्तिपुरविरुद्ध छानविन र अनुसन्धान गर्ने निर्णय गरेको छ ।
प्रेस काउन्सिलले बिहीबार नै कान्तिपुरलाई पत्र काटेर सबै लिखित दस्तावेजहरू माग गर्ने तयारी गरेको छ । कान्तिपुर दैनिकका मालिक कैलाश सिरोहियाको निकै अहँकार र घमण्ड बढेको छ । सिरोहियाको अहँकार र घमण्डलाई त्यसका सम्पादक उमेश चौहानसहितको समूहले साथ दिएको छ ।
पत्रकार महासंघले कुनै पनि मिडियाविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएको यो सम्भवत पहिलो घटना हो । कान्तिपुरको दादागिरि निकै बढेपछि कारबाहीको मागसहित पत्रकार महासंघ आफैले प्रेस काउन्सिलमा उजुरी दिएको छ । कान्तिपुरले कतिसम्म गलत समाचार छापेर हैरान बनाएको रहेछ भन्ने कुराको पुष्टि भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया