कांग्रेस सभापति देउवाको निर्देशनपछि प्राविधिक टोली हिँड्यो, धुम्बाराहीमा बोल्ड निर्णय
काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने निर्णय गर्दै टोलीलाई प्रभावित क्षेत्रमा पठाउने भएको छ ।
काठमाडौंको धुम्बाराहीस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयमसेवक टोली जाजरकोट र रूकुम पश्चिम पठाउने निर्णय गरेको हो । सभापति देउवाले भूकम्प प्रभावितलाई स्वयंसेवक पठाउन निर्देशन दिएका थिए ।
कांग्रेसको निर्णयानुसार केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्र पुगेको छ । पौडेलले मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने बताएका छन् ।
प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जाजरकोट र रूकुम पश्चिम जिल्लामा भूकम्प प्रभावितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय भएको बताए ।
कांग्रेसले प्रत्येक टोलीमा एकजना इन्जिनियर, एकजना डकर्मी र एकजना व्यवस्थापक रहने जनाएको छ । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक रहनेछन् ।
टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई कांग्रेसले आग्रह गरेको छ ।
कांग्रेसले जाजरकोट र रूकुम पश्चिममा गरी एक हजार टहरा बनाउने तयारी गरेको छ । सोही अनुसार प्राविधिक टोली पठाउने निर्णय गरेको छ ।
भूकम्प प्रभावित क्षेत्र पुगेका उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले भूकम्प प्रभावितको अवस्था र समस्याबारे जानकारी गराएका थिए ।
बैठकमा सभापति देउवाले मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाबारेमा अर्थमन्त्री डा.प्रकाशशरण महतसँग जानकारी माग गरेका छन् ।
मुलुकको अर्थतन्त्रका बारेमा जटिल परिस्थिति बन्दै गएको हुनाले सरकारले चाँडै नै राहत हुने किसिमको र लगानी नडुब्ने कुराको सुनिश्चितता हुने गरी नीति बनाउन कांग्रेसले अर्थमन्त्री डा.महतलाई निर्देशन दिएको छ ।
अर्थमन्त्री डा.महतले नेपालमा लगानी विस्तारै बढ्दै गइरहेको बताएका छन् । उनले अर्थतन्त्रका सूचकहरु सकारात्मक भइरहेकाले अर्थतन्त्र थप चलायमान बन्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया