भारतीय र नेपाली नौ जना ठगहरू पक्राउ
टीकापुर । प्रहरीले कैलाली जिल्लामा अनलाईनमार्फत ठगी गरेको अभियोगमा ९ जनालाई पक्राउ गरेको छ ।
धनगढी उप–महानरपालिका–५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
पक्राउ पर्नेहरूमा डोटीको सिखर नगरपालिका–१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुरको पुर्नवास नगरपालिका–६ बस्ने २९ वर्षीय मीनबहादुर सुनार, बेलडाडी गाउँपालिका–२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार रहेका छन् ।
भारतको उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारतको करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारतको दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु पनि पक्राउ परेका छन् ।
धनगढी उप–महानरपालिका–५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरूलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट प्रहरीले नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपियाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थानसहित पक्राउ गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया