आईजीपी अर्यालद्वारा सशस्त्र प्रहरीका पूर्व उच्च अधिकारीहरूसँग परामर्श

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले संगठनका बहालवाला तथा अवकाश प्राप्त बरिष्ठ अधिकृतहरूबीचमा सशस्त्र प्रहरी बल नेपालको कार्यादेश तथा बर्तमान सुरक्षा अवस्था बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भू हलचोकमा शुक्रबार आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले संगठनको लक्ष्य प्राप्तिमा यस प्रकारका छलफल महत्वपूर्ण र फलदायी रहने उल्लेख गरेका छन् ।

उनले अग्रजको सुझाव, सल्लाह तथा रचनात्मक सहयोग संगठनको वृत्ति विकासका लागि मार्गदर्शक समेत हुने बताएका छन् ।

सीमा सुरक्षा, मानवश्रोत तथा कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम तथा बंशीराज दाहालले आ–आफ्नो विभागीय गतिबिधि प्रस्तुत गरेका छन् ।

खासगरी सीमा सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिकाका सन्दर्भमा सम्बन्धित कानूनी प्रावधान, सीमा सुरक्षार्थ प्रविधिकरणका सम्भावना र चुनौती, सीमा व्यवस्थापनमा भएका प्रयासका विषयमा छलफल भएको थियो ।

सुरक्षा निकाय र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकबीचको सम्बन्ध विकास, सीमा सुरक्षामा अन्तरनिकाय समन्वय र सहयोग, राजश्व चुहावट नियन्त्रणका लागि गर्नुपर्ने प्रयासका विषयमा समेत छलफल केन्द्रित थियो ।

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरू सनतकुमार बस्नेत, किशोरकुमार लामा, शैलेन्द्रकुमार श्रेष्ठ, कोषराज वन्त, सिंहबहादुर श्रेष्ठ र पुष्पराम केसीले समयानुकुल सीमा सुरक्षाका चुनौती पनि बदलिँदै जाने भएकोले त्यसै अनुरुप लाग्नुपर्ने बताए ।

उनीहरूले सीमा सुरक्षामा स्थानीय जनतासँगको सहकार्य महत्वपूर्ण हुने भएकोले संगठनले सीमावासीसँग सहकार्य गर्ने कार्यको थालनी गर्नु अत्यन्त महत्वपूर्ण भएको बताए ।

Published : Friday, 2023 December 15, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया