डीआईजी कडायतद्वारा ईलाका प्रहरी कार्यालय बगनाहको भवनहरू उद्घाटन

बर्दिया । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक तथा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) कुबेर कडायतले ईलाका प्रहरी कार्यालय, बगनाह, भुरिगाउँ बर्दिया परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको उद्घाटन गरेका छन् ।

मंगलबार डीआईजी कडायतले नवनिर्मित भवनहरूको निरीक्षण समेत गरेका छन् ।

डीआईजी कडायतले भवन निर्माणको कार्यलाई त्रुटीरहित तवरले सम्पन्न गर्ने ईन्द्रधनु अछाम निर्माण सेवा टीकापुरका प्रतिनिधि बाँधुराम चौधरी र लुम्बिनी प्रदेश प्रहरी कार्यालय आवास तथा भौतिक शाखाका प्रहरी वरिष्ठ नायव निरीक्षक श्यामबहादुर बलायरलाई प्रशंसापत्र प्रदान गरेका छन् ।

कडायतले जिल्लाभरि उत्कृष्ट कार्य गर्ने २० जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार समेत प्रदान गरेका छन् ।

प्रहरी नायव महानिरीक्षक कडायतले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको बताएका छन् ।

नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला, उर्जा र मनोवलका साथ व्यावसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत पुग्ने डीआईजी कडायतले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारको नियमित बजेटबाट कुल ३ करोड ७८ लाख ४१ हजार ७९ रूपियाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही अवसरमा प्रहरी नायव महानिरीक्षक कडायतले बर्दिया जिल्लास्थित प्रहरी कार्यालयका कार्यालय प्रमुख, तथा प्रहरी अधिकृत एवम् जवानहरूलाई शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा आफ्नो व्यवसायिकता प्रदर्शन गर्न, प्रमाणमुखी अनुसन्धान गर्न, प्रहरीको आचरण र व्यवहारमा सुधार ल्याउनु पर्ने लगायतका विषयमा निर्देशन समेत दिएका छन् ।

Published : Wednesday, 2024 January 24, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया