कांग्रेसमा खड्का, थापा र शर्माद्वारा प्रतिवेदनहरू पेश, डा.महत र बस्नेतले पनि जानकारी दिए

काठमाडौं । नेपाली कांग्रेसको महासमितिको बैठकको तयारी स्वरुप केन्द्रीय कार्यसमितिको बैठक बसेको छ ।

बिहीबार केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा केन्द्रीय कार्यसमितिको बैठक बसेको हो । महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरू छलफलका लागि प्रस्तुत गरिएको छ ।

उप–सभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उप–सभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, समाजिक र परराष्ट्र नीति समेटिएको छ । महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, सांगठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जवाफदेही, १५ औं महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।

महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ ।

प्रस्तावहरूमाथि छलफल शुरु भएको पार्टीका सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताएका छन् ।

बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री एवम् पार्टीका प्रवक्त डा.प्रकाशशरण महतले जानकारी गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो मन्त्रालयले गरेका कामबारे जानकारी गराएका छन् ।

कांग्रेसको केन्द्रीय समितिको अर्को बैठक शुक्रबार बिहान ९ बजे बस्नेछ । बैठकमा प्रस्तुत प्रतिवेदनहरूमा केन्द्रीय सदस्य र पदाधिकारीहरूले धारणा राख्नेछन् ।

कांग्रेसको महासमितिको बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा शुरु हुन लागेको छ । महासमितिले कांग्रेसको नीति पारित गर्नेछ ।

Published : Thursday, 2024 February 15, 10:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया