एमाले, रास्वपा र राप्रपाका ‘बबाल’ सांसदहरूद्वारा संसद अबरोध, कांग्रेसका सांसदलाई बोल्न दिएनन्

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसी (राजन)ले संसदमा बोल्दै गर्दा नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदहरूले हो–हल्ला गरेर संसद अवरोध गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठक बसेको थियो । सदनमा एमालेका सांसद योगेश भट्टराईले सबैभन्दा पहिला समय लिएर बोलेका थिए । अन्य सांसदहरूले पनि बोलेका थिए ।

तर, एमालेका सांसदहरूले कांग्रेसका सांसद केसी बोलिरहेका बेला एमालेका सांसदहरू आ–आफ्नो सिटमा उभिएर विरोध गरेका छन् ।

कांग्रेसका सांसद केसीले संसदमा विधेयक प्रस्तुत गर्ने बेला प्रतिपक्ष दलका सांसद संसदको बैठकबाट बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका छन् ।

विधेयक प्रस्तुत गर्ने बेला गणपूरक संख्या नपुगोस् भनेर विपक्षी दलका सांसद सदनबाट बाहिर गएको आरोप लगाएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।

कांग्रेसका सांसद केसीको सो आरोपछि एमालेसहितका विपक्षी दलका सांसदहरू आसनबाट उठेर हो–हल्ला गर्दै अवरोध गरेका छन् ।

सभामुखले सम्झाएरफेरि सांसद केसीलाई बोल्न समय दिएका थिए । सांसद केसीले भने, ‘हाम्रो महासमिति बैठक भएको कुरा प्रतिपक्षी दलका साथीहरूलाई पनि थाहा छ, संख्या हिजो कम थियो, न्यून थियो, तैपनि हामी बसिरहेका थियौँ, मेरो आँखाले प्रत्यक्ष देखिरहेको थिएँ, कुनै झुटो विवरण दिइरहेको छैन ।’

‘विधेयक पास गर्ने जिम्मेवारी सत्ता पक्षको मात्रै होइन, एक वर्षमा कानुन पास गर्ने सांसद भनेर आज सारा ठाउँमा आलोचना भइरहेको छ’, केसीले भने, ‘विधेयक जस्तो हामीले कुरा अगाडि लानुपर्छ कि पर्दैन ? सत्ता पक्षले बोल्न पाउने कि नपाउने ? हाम्रो संख्या न्यून थियो, म त्यो स्वीकार गर्छु तर, विधेयक पेस गर्ने कुरा असफल पार्ने प्रयास प्रतिपक्षबाट भएको छ ।’

सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिएका छन् । उनले संसदको नियमित कामलाई नरोकेको बताउँदै सरकारले प्रतिपक्षी दलमाथि हिलो छ्याप्ने काम गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘सरकारसँग बहुमत छ भने आफूले पेस गरेको विधेयक पास गर्ने आँट छ कि छैन ? छैन भने सत्ताबाट नैतिकताबाट सरकार छोड्नुपर्छ ।’

रास्वपाका सांसद विराजभक्त श्रेष्ठले विधेयक पारित गर्न त बहुमत नभएको अवस्थामा गठबन्धनले सरकार कसरी चलाइरहेको छ भन्दै प्रश्न गरेका छन् ।

यसअघि, बिहीबार बसेको प्रतिनिधि सभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको थियो । गणपूरक संख्या नपुग्दा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन असफल भएको थियो ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गर्दै गर्दा एमाले सचेतक महेश बर्तौलाले संसदमा गणपूरक संख्या यकिन गर्न माग गरेका थिए ।

गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा ६५ जना मात्र भएपछि बिहीबारको संसद् बैठक स्थगित भएको थियो ।

एमालेसहितका विपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् ।

Published : Friday, 2024 February 23, 2:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया