लुम्बिनीलाई ब्राण्डिङ गर्न लरेट एन्ड लिडर्स शिखर सम्मेलन, विवादित बनाउन सानो झुण्ड सक्रिय

बुटवल । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लरेट एन्ड लिडर्स शिखर सम्मेलनबाट लुम्बिनीलाई ब्राण्डिङ गर्न लागेको बताएका छन् ।

शनिबार मुख्यमन्त्री चौधरीले बुटवलमा पत्रकार सम्मेलन गरेर लुम्बिनीलाई ब्राण्डिङ गर्न लरेट एन्ड लिडर्स शिखर सम्मेलन गर्न लागेको बताए ।

शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते लरेट एन्ड लिडर्स शिखर सम्मेलन हुन लागेको छ ।

शिखर सम्मेलनका माध्यमबाट विश्वभर लुम्बिनी र शान्तिको सन्देश प्रवाह गर्न मद्दत पुग्ने विश्वास लिइएको मुख्यमन्त्री चौधरीले बताएका छन् । उनले सम्मेलनका विषयमा विभिन्न आशंका र आक्षेप नलगाउन अनुरोध गरेका छन् ।

सम्मेलन लुम्बिनी प्रदेश सरकारले लुम्बिनीमा आयोजना गर्न लागेको छ । सम्मेलनबाट विश्वभर भगवान् गौतमबुद्धको करुणा, अहिंसा र शान्तिको सन्देश प्रभाव गर्न मद्दत पुग्ने मुख्यमन्त्री चौधरीले बताएका छन् ।

शिखर सम्मेलनका माध्यमबाट लुम्बिनीको ब्रान्डिङ गर्न मद्दत पुग्ने चौधरीले बताएका छन् । ‘सम्मेलनमा अहिलेसम्म विश्वका विभिन्न देशका नोवेल शान्ति र अन्य विधामा पुरस्कार प्राप्त गर्न सफल विश्वविख्यात व्यक्तित्वहरु सहभागी हुनुहुनेछ’, चौधरीले भनेका छन् ।

सम्मेलनमा विभिन्न देशका नौ जना नोबेल शान्ति पुरस्कार विजेता लुम्बिनी आउनेछन् । नोबेल शान्ति पुरस्कार विजेता टिमोर–लेस्टेका राष्ट्रपति जोसे रामोस होर्टा (१७९६), जोडी विलयम्स (१९९७), सन् २०११ का संयुक्त विजेता लेह्म बोवी र टुवाको कर्मयान सहभागी हुनेछन् ।

सन् २०१५ का नोबेल शान्ति पुरस्कार विजेता ट्युनिसियाको नेसनल डायलग क्वार्टेटका संस्थापकमध्येका अब्देससतार वेन मौसा र विदेद बुसामाबुईसँगै चिकित्सा विज्ञानमा नोबेल विजेता रिचर्ड रोबर्टस (१९९३), रसायन शास्त्रका नोबेल विजेता एरी वार्सनल (२०१३) पनि लुम्बिनी आउने पक्का भएको छ ।

अर्थशास्त्री जेफ्री स्याक्स, जोर्डनका राजकुमार अली विन अल हुसेन, स्कट होम इन्टरनेसनल पिस रिसर्च इन्स्च्यिुटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पनामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङ्गो पनि सहभागी हुनेछन् ।

विभिन्न देशका २०० भन्दाबढी विकास साझेदारका साथै विभिन्न क्षेत्रका तीन सय जना विज्ञ सहभागी हुनेछन् । सहभागीलाई पाल्पा, स्वगद्वारी र बर्दिया राष्ट्रिय निकुञ्जको भ्रमण गराइने योजना छ ।

लुम्बिनी प्रदेश सरकारले सम्मेलनका लागि ६ करोड ५० लाख बजेट छुट्याइएको छ । सरकारको नीति कार्यक्रम र बजेटमै समावेश गरी प्रदेशसभाबाट पास भएर सरकारले कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री चौधरीले बताएका छन् ।

चौधरीले बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्ने बताएका छन् । लुम्बिनीमा लगानी प्रवर्द्धनको वातावरण बनाउने उनले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारले लरेट एन्ड लिडर्स शिखर सम्मेलन गर्न लागेकोमा केही तत्वलाई मन परेको छैन । विशेष गरेर लुम्बिनीको प्रचार प्रसार विश्वभरि भएर नेपालको पर्यटन प्रबर्द्धन भएको देख्न नचाहने सानो झुण्डले सम्मेलनको विरोध गरिरहेको छ ।

सानो स्वार्थ समूहले सम्मेलनलाई भाँड्न तिब्बतका धर्मगुरु दलाई लामालाई ल्याउन लागेको भनेर प्रचार गरिरहेको छ । जबकि चीनसँगको सम्बन्धलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले दलाई लामालाई सम्मेलनमा ल्याउनेबारेमा कुनै पनि पहल गरेको छैन ।

Published : Saturday, 2024 March 2, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया