सहकारीपीडितकाे न्यायका लागि कांग्रेसले प्रदर्शन गर्ने, शक्तिको दुरुपयोग गरेर लामिछानेद्वारा कान्तिपुरमाथि हमला

काठमाडौं । नेपाली कांग्रेसले सहकारीपीडितको पक्षमा उभिने निर्णय गर्दै काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

बुधबार पार्टी कार्यालयमा सानेमा बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले लाखौं सहकारीपीडितहरूको पक्षमा उभिने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।

सहकारीपीडितको बचत फिर्ता नभएसम्म कांग्रेसले सडक र सदनबाट आन्दोलन जारी राख्ने निर्णय भएको उनले बताएका छन् ।

कांग्रेसले सहकारीको करोडौं रकम अपचलन र ठगी भएको तथा सहकारीपीडितलाई न्याय माग गरेर कांग्रेसले जेठ १३ गते २ बजे काठमाडौंकाे प्रदर्शनीमार्गबाट विशाल प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता डा.महतले बताएका छन् । प्रदर्शनको नेतृत्व नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले गर्नेछ ।

डा.महतले भने, ‘देशभरि सहकारीका लाखौं बचतकर्ताहरू पीडित भएका छन् । त्यसलाई गम्भीरताका साथ लिँदै कांग्रेस पीडितको पक्षमा उभिने निर्णय गरेको छ ।’

‘उहाँहरूको बचत फिर्ता नभएसम्म र अपचलन गर्नेहरूलाई कानूनी कारबाही नगरेसम्म हामीलै सडक र सदनबाट आन्दोलन गर्छौं’, प्रवक्ता डा.महतले भनेका छन् ।

गृहमन्त्री रवि लामिछाने पदमा रहेकै कारण उनीविरुद्ध छानबिन हुन नसकेको कांग्रेसले ठहर गरेको छ ।

सहकारीको झन्डै एक अर्ब रुपियाँ लामिछानेको गोरखा मिडिया नेटवर्क प्रा.लि.मा अपलचन भएको प्रवक्ता डा.महतले बताएका छन् ।

‘उपप्रधान तथा गृहमन्त्रीको गोरखा मिडियामार्फत् विभिन्न सहकारीका झन्डै एक अर्ब रुपियाँ दुरुपयोग भएको छ’, डा.महतले भने, ‘गृहमन्त्री भएकै कारण उनीविरुद्ध सुरक्षा निकायबाट छानबिन हुन सकेको छैन । वा, छानबिन अवरुद्ध गराइएको छ ।’

‘प्रधानमन्त्री र आइजीपीलगायतले आलटाल जवाफ दिइरहेका छन्’, प्रवक्ता डा.महतले भने, ‘त्यसैले हामीले संसदीय छानबिन समिति मागेका हौं ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा सभामुख देवराज घिमिरेले खेलेको भूमिकाप्रति पनि आपत्ति जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट जबर्जस्ती विश्वासको मत लिएको भन्दै प्रवक्ता डा.महतले त्यसमा सभामुखले पनि संसदीय मर्यादाको भूमिका निर्वाह नगरेको जनाएका छन् ।

‘संसदमा महत्वपूर्ण विषयलाई लिएर निरन्तर आवाज उठाइराख्दा सरकारले बेवास्ता गरेर संसदीय मर्यादा खिलाप प्रस्तुत भएको छ’, उनले भने, ‘सभामुखले पनि संसदीय गरिमाको पालना गरेका छैनन् ।’

डा.महतले भने, ‘प्रधानमन्त्रीले लिएको विश्वासको मतलाई कांग्रेसले गम्भीरतका साथ लिएको छ । संसदको दृश्य संसदीय व्यवस्था र लोकतान्त्रको मर्म विपरीत छ ।’

कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको जनाएको छ ।

प्रवक्ता डा.महतले सरकारले मिडियालाई नियन्त्रणमा लिने र पत्रकारलाई त्रासमा राख्ने नियततर्फ उन्मुख रहेको भन्दै घोर निन्दा गरेका छन् ।

सरकारका पछिल्ला कदमहरूको गहिरो समीक्षा गर्दै संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने कार्यहरूप्रति निन्दा गरेको डा.महतले बताए ।

डा.महतले सरकार वर्तमान संविधान र व्यवस्थालाई कमजोर पार्ने कार्यहरू गर्न उद्दत देखिएको बताए ।

उनले सरकारले नै जनतालाई ठगी गर्ने, अपराधीलाई संरक्षण गर्ने, संविधान, लोकतन्त्र र लोकतान्त्रिक मूल्य मान्यतामा आक्रमण गर्दै निरंकुशतातर्फ उन्मुख रहेको आरोप लगाए ।

प्रवक्ता डा.महतले सरकारले मिडियामाथि नियन्त्रण बनाउने, पत्रकारहरूलाई त्रासमा राख्ने र प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्दत देखिएको बताए ।

‘हिजो कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध गृह प्रशासन जसरी प्रस्तुत भयो’, उनले भने, ‘त्यो प्रतिशोधपूर्ण छ भन्ने हाम्रो ठहर छ । पछिल्लो समयमा निरन्तररुपमा कान्तिपुरले गृहमन्त्री स्वयम्ले सहकारी ठगी गरेको विषयलाई प्रस्तुत गरेकै आधारमा कान्तिपुरका अध्यक्ष सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएकोप्रति हाम्रो आपत्ति छ । मिडियालाई नियन्त्रणमा लिने, त्रासमा राख्ने सरकारको नियत देखिएको छ ।’

‘ठगीका आरोपितहरूले गृह प्रशासन चलाउने, सत्ता गठबन्धनले संरक्षण गर्ने काम भएको छ’, उनले भने, ‘सभामुखबाट निष्पक्षता कायम भएको छैन ।’

उनले भने, ‘सरकारले विश्वासको मत लिने कुरामा समेत संसदमा जबरजस्ती गरेर इतिहाँसमै नगरिएको कार्य गरिएको छ ।’

उनले भने, ‘अहिलेसम्म हामीले गृहमन्त्रीमाथि मात्रै संसदीय छानबिनको माग गरिरहेका थियौँ । अब रवि लामिछानेकोमात्रै विषय रहेन, यो गठबन्धनको सरकार नै लोकतन्त्र र संविधानमाथि आक्रमणमा उत्रिएको छ ।’

‘संविधानलाई कमजोर बनाउने कार्यमा सरकार उद्दत देखिएको छ, यस्तो अवस्थामा कांग्रेस रमिते बनेर बस्दैन’, डा.महतले भने, ‘हामीले स्थानीय तहसम्मै यो विषयमा जनतालाई सू–सूचित गर्छौँ ।’

Published : Wednesday, 2024 May 22, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया