आइतबार काठमाडौंको सभामा जान चापागाउँमा कांग्रेसको भव्य तयार, सहकारी ठगबारे जानकारी दिइयो

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद उदयशम्शेर राणाले पार्टीले सुरु गर्न लागेको आन्दोलनका विषयमा आफ्नो क्षेत्रका नेता कार्यकर्तालाई जानकारी गराएका छन् ।

शनिबार ललितपुर क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिले गोदावरी नगरपालिकाको चापागाउँमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता राणाले देशभरिका लाखौं सहकारीपीडितको हकहितका पक्षमा कांग्रेसले आवाज उठाएको बताए ।

सहकारीमा जम्मा भएको करोडौं रकम अपचलन र ठगी गरेको आरोप लागेका व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (स्वपा)का सभापति रवि लामिछाने गृहमन्त्री बनेर अनुसन्धानलाई प्रभावित बनाएपछि कांग्रेसले छानविनका लागि संसदीय समिति माग गरेको बताएका छन् ।

पोखराको सूर्यदर्शन लगायतका आधा दर्जन सहकारीबाट झण्डै १ अर्ब रुपियाँ लामिछाने प्रबन्ध निर्देशक र जीवी राई अध्यक्ष रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा कानून विपरित रकम गएको प्रमाण र तथ्यहरूले देखाएपछि कांग्रेसले लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समितिको माग गरेको नेता राणाले बताए ।

त्यसै गरी तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा गिरिबन्धु टि इस्टेटको ४३४ बिघा जग्गा नीतिगत भ्रष्टाचार गरेर प्लटिङ गरी बिक्रीका लागि सट्टापट्टा गर्ने निर्णय भएको भन्दै राणाले अनुसन्धानको माग गरेका छन् ।

कांग्रेसले संसदीय समिति बनाउन माग गरेर सदन अबरोध गरिरहेको भन्दै राणाले सत्तापक्षले मार्शल लगाएर दमन गरेर जबरजस्ती सदन चलाएका कारण कांग्रेसले खुला सभा गर्नु परेको बताएका छन् ।

नेपाली कांग्रेस ललितपुर क्षेत्र नं. १ का सभापति सुन्दरमान थिङको सभापतित्वमा भएको बृहत भेलामा केन्द्रीय सदस्य दिलमान पाख्रिन, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन लगायतका नेताहरूको उपस्थिति रहेको थियो । नेताद्वय पाख्रिन र महर्जनले सरकारको अधिनायकवादी चरित्र र निरंकुश गतिविधिविरुद्ध कांग्रेस सडकमा उत्रनु परेको बताए । उनीहरूले मिडियामाथि दमन भएको भन्दै विरोध जनाएका छन् ।

आइतबार मध्यान्ह १२ः३० बजे चापागाउँस्थित पुरानो बसपार्क व्यानरसहित जम्मा भएर काठमाडौंको भृकुटीमण्डपमा जाने निर्णय भएको क्षेत्रीय सभापति थिङले बताएका छन् ।

बृहत भेलामा महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, सांसद, भ्रातृ संस्थाहरू, प्रदेश, नगर कार्यसमिति, पालिका, वडा प्रमुखहरू सबैलाई बोलालाई बोलाइएको थियो । भेलामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो ।

यसअघि, शुक्रबार नेपाली कांग्रेस ललितपुरको जिल्ला कार्यसमितिले बैठक बोलाएको थियो । बैठकमा केन्द्रबाट खटिएका तीन जना प्रतिनिधिहरू देवेन्द्रराज कँडेल, दिलमान पाख्रिन र अर्जुनप्रसाद जोशीको पनि उपस्थिति रहेको थियो ।

Published : Saturday, 2024 May 25, 6:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया