चाबहिलमा तरुणको राँके जुलुसमा प्रहरी दमनको प्रयास, रविको पुत्ला जल्यो, उत्तेजित भएनन् तरुण

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेमाथि कारबाहीको माग गर्दै नेपाल तरुण दलले राँके जुलुस प्रदर्शन गरेको छ ।

सोमबार साँझ काठमाडौंको चाबहिलमा उल्लेख्य संख्यामा जम्मा भएका तरुणहरूले राँके जुलुस प्रदर्शन गरेका हुन् । राँके जुलुसमा तरुण, विद्यार्थीको ठूलो उपस्थिति रहेको थियो ।

राँके जुलुसमा केही समय उपस्थित भएर अध्यक्ष विद्वान गुरुङले तरुणहरूलाई हौसला दिएका छन् ।

तरुण दलका नेता कार्यकर्ताले राँके जुलुस प्रदर्शन गर्ने क्रममा प्रहरीले हस्तक्षेपको प्रयास गरेको छ । प्रहरीले राँको खोसेर निभाउन खोजेपछि तरुणहरूले प्रतिकार समेत गरेका छन् । तरुणहरूले सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री लामिछाने, प्रधानमन्त्री पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीको पुत्ला पनि जलाएका छन् । तरुणहरूले एमालेका अध्यक्ष समेत रहेका तत्कालीन प्रधानमन्त्री ओलीलाई गिरिबन्धु टि इस्टेटको जग्गा काण्डमा अनुसन्धान गरेर कारबाहीको माग पनि गरेका छन् ।

प्रहरीको दमन हुन थालेपछि आक्रोशित भएका तरुणहरूले जीबी राई कहाँ छ ? रविलाई थाहा छ, सहकारी ठगलाई कारबाही गर्न, संसदीय छानविन समिति गठन गर, नालायक गृहमन्त्री राजीनामा दे जस्ता नारावाजी गरेका छन् ।

तरुण दलकी केन्द्रीय सदस्य कोपिला सुब्बाले सहकारीको करोडौं रकम अपचलन गर्ने गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताइन् । उनले समिति मात्रै होइन अनुसन्धान नसकिँदासम्म लामिछानेलाई गृहमन्त्री पदबाट निलम्बन गर्नुपर्ने बताएकी छिन् । सुब्बाले भनिन्, ‘यो निरंकुश नालायक सरकारविरुद्ध तरुण दलले बोलिरहेको छ । र, बोलिरहन्छ जबसम्म बुढेसकालको लागि जम्मा गरेको रकमको सुरक्षा नहुँदासम्म तरुण दलले प्रदर्शन गरिरहनेछ ।’

केन्दीय सदस्य सुब्बाले नेपाली कांग्रेसले संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध हुँदा पनि सत्तापक्ष जबरजस्ती सदन चलाएर जान खोजेको भन्दै आक्रोश पोखिन् ।

केन्द्रीय सदस्य दिनेश राईले भने, ‘अमेरिकामा जेल पर्ने बेला अमेरिकाबाट भागेर आएको त्यो दुइटा नागरिकता र दुइटा पासपोर्ट रहेको रवि लामिछानेलाई जेलमा कोच्न तयार रहनु होला ।’

राईले भने, ‘सहकारीको पैसा अपचलन गरेर करोडौं रकम ठगी गरेको रवि लामिछानेको नाम राखेर संसदीय समिनि नबनाइन्जेलसम्म कांग्रेसका भ्रातृ संस्थाहरूले लडिरहने छौँ ।’

तरुण दलका केन्द्रीय सदस्य प्रेम शाहीले प्रधानमन्त्री हुनका लागि दुइटा पासपोर्ट र दुइटा नागरिकता बोकेको हिँडेको ठग व्यक्ति रवि लामिछानेलाई संरक्षण गरेको बताए । शाहीले गिरिबन्धु टि इस्टेटको जग्गा घोटाला र भ्रष्टाचार गर्ने केपी ओलीलाई कारबाहीको माग गरे ।

तरुण दलका केन्द्रीय सदस्य जीत क्षेत्रीले भने, ‘यो देश छोडेर गएर अमेरिकाबाट मोजमस्ती गरेर फेरि फर्किएर तपाई हामीलाई लुट्न आएको रहेछ रवि लामिछाने । छानविन गर्न रवि लामिछाने तयार हुनुपर्छ ।’

Published : Monday, 2024 May 27, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया