रास्वपाले बेचनको फाइल सिखण्डी बनाइ ब्ल्याकमेलिङ गरेपछि रोशन कार्कीले पोल खोलिन्
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले बेचन झाको फाइललाई सिखण्डीको रुपमा संसदमा प्रस्तुत गरेर धम्की दिन अस्त्र नबनाउन सचेत गराएकी छिन् ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसख कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू र त्यस पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेप्रति संकेत गर्दै बेचन झाको फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाउन आग्रह गरिन् । उनले फाइल बनाउने हो भने गृहमन्त्री लामिछानेकै पनि ठूलो फाइल बन्न सक्ने बताएकी छिन् ।
उनले भनिन्, ‘सभामुख महोदय, आजकाल यो सदन निकै रोचक भएको छ । निकै रमाइलो भएको छ । कविता सुनिन्छ । गीत सुनिन्छ । कुनै दिन अगाडि नाच पनि हेर्न सकिएल । सदन रोचक भएको छ ।’
‘आज देश आक्रान्त छ । ६५ भन्दा बढि मानिसहरू मरिसके । ज्यान गुमाइसके । बाढी, पहिरोले गर्दा नेपाली जनजीवन अस्तव्यस्त छ । हामी केमा छौँ ? हामी केमा छौँ भने, कहिले हामी बेचन खोज्छौँ, कहिले हामीहरू फाइलका कुरा गर्छौं । यो कस्तो बिडम्बना हो ? के हामीलाई ती नेपाली नागरिकहरूले भोट दिएर जिताएर पठाएको होइन ? तिनीहरूप्रति केही पनि दायित्व छैन ?’, सांसद कार्कीले भनिन् ।
उनले भनिन्, ‘कहिले त्यो रोष्ट्रममा बसेर गृहमन्त्रीज्यू भन्नु हुन्छ फाइल त बनेकै रहेन छ । फाइल बनाउँदै छु । फाइल कहिले बनाउने हो ? फाइल कहिले खोल्ने हो ? कृपया तपाईहरूलाई म अनुरोध गर्दछु, सभामुख महोदय विनम्र अनुरोध गर्दछु फाइललाई ब्ल्याकमेलिङको माध्यम नबनाइयोस् ।’
‘तपाईहरूले ब्ल्याकमेलिङको माध्यम फाइललाई नबनाउनुहोस् । कुनै बेचलनलाई अगाडि ल्याएर आएर उभ्याएर त्यसलाई एउटा सिखण्डीको रुपमा नउभ्याउनुस् । म तपाईहरूलाई अनुरोध गर्दछु । तपाईहरू गाउँघरमा जानुस् । गृहमन्त्रीज्यू, सभामुखमार्फत अनुरोध गर्न चाहन्छु’, उनले भनिन् ।
‘गृहमन्त्रीज्यूलाई रुलिङ गरियोस् । उहाँ (रवि लामिछाने) अहिले पनि गृहमन्त्री हुनुहुन्छ । उहाँले गरेको फेहरिस्तअनुसार विपत् न्यूनीकरणको काम भएको छ की छैन ? नेपाली जनता आज ५६ जनाभन्दा बढि मरिसके । अझै कति जना मर्ने हुन् । त्यस कारण यस्ता खेलाचीको काम नगरौँ । नेपाली जनतालाई ज्यान बचाउने काम गरौँ’, सांसद कार्कीले सचेत गराएकी छिन् ।
‘यस्ता खालका फाइलहरूको कुराहरू यहाँ अगाडि ल्याएर आएर धम्काउने अस्त्रको रुपमा फाइल नबनाऔं । किन भने फाइलहरू सबैका खुल्लान् । फाइलहरू बन्दै पनि होलान् । गृहमन्त्रीज्यूकै शब्दलाई सापटी लिएर भन्छु । फाइलहरू बन्दै होलान्’, उनले भनिन् ।
‘विपत न्यूनीकरण प्राधिकरण पनि छ । गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ मलाई थाहा छैन । सायद त्यहाँ बसेर यो लाइभ हेरिरहनु भएको होला’, सांसद कार्कीले भनिन् ।
रास्वपाका सांसद र माओवादी केन्द्रका सांसदहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सरकार ढलेको भनेर संसदमा बारम्बार पीडा पोख्न थालेपछि राप्रपाकी सांसद कार्कीले बेचन झाको फाइललाई देखाएर ब्ल्याकमेलिङ नगर्न भनेकी हुन् । उनले फाइल बनाउने हो भने गृहमन्त्री लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीका नेताहरू कै पनि फाइल बन्न सक्ने बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया