बङ्गलादेशमा रहेका विद्यार्थीको सुरक्षाका लागि परराष्ट्रमन्त्री डा.राणा सचेत, सम्पर्क गर्न नम्बर प्रदान

काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका सन्दर्भमा त्यहाँ अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ ।

शुक्रबार मन्त्रालयले विज्ञप्ति जारी गरेर भनेको छ, ‘हालसम्म सम्बन्धित विश्वविद्यालय, कलेज तथा ढाकास्थित नेपाली राजदूतावास समेतको सहयोग र समन्वयमा नेपाली विद्यार्थी सुरक्षित रहेको तथा उहाँहरूको थप सहजताका लागि निरन्तर प्रयत्न भइरहेको छ ।’

परराष्ट्रमन्त्री डा.आरजु राणाले बङ्गलादेशमा भइरहेको विकसित घटना र प्रदर्शनबाट नेपाली विद्यार्थीलाई पर्न सक्ने असुविधा तथा सहयोगका लागि चिन्ता जनाएपछि परराष्ट्र मन्त्रालयले हेल्पलाइन उपलब्ध गराएर सहयोग आवश्यक पर्ने विद्यार्थीलाई सहयोग गर्ने जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उहाँहरूको अभिभावक एवं आफन्तहरूले ढाकास्थित नेपाली राजदूतावासको देहायको नम्बरमा जुनसकै समयमा सम्पर्क गर्न सक्नु हुनेछ ।’

परराष्ट्र मन्त्रालयले बङ्गलादेशस्थित नेपाली राजदूतावासकी द्वितीय सचिव योजना बम्जनको ८८०१८८६९१०१३ र रिया क्षेत्रीको ८८०१७४५४०७९५८ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Published : Friday, 2024 July 19, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया