आर्थिक अपराधको कारणले अन्य अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखायो : डीआइजी दानबहादुर कार्की

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले आर्थिक अपराधको कारणले अन्य समग्र अपराधहरू वृद्धि भएको तथ्याङ्कले देखाएको बताएका छन् ।

आइतबार प्रहरी हेडक्वाटर नक्सालमा आयोजित पत्रकार सम्मेलनमा डीआइजी कार्कीले परम्परागत अपराध तथा आर्थिक अपराधको नियन्त्रण एवम् अनुसन्धान गरी कानूनी दायरामा ल्याउन नेपाल प्रहरी संवेदनशील रहेको बताए । उनले लागूऔषध नियन्त्रण एवम् रोकथाममा नेपाल प्रहरीले थप सक्रिय भई कार्य गर्दै आइरहेको बताए ।

समुदाय–प्रहरी साझेदारी मार्फत विभिन्न चेतना मुलक कार्यक्रम संचालन गरी सामाजिक अपराध न्यूनीकरण गर्न थप क्रियाशील हुने उनले बताए ।

प्रहरी प्रवक्ता कार्कीले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति अन्तर्गत दरबन्दी, कार्यरत संख्या र दर्जागत संख्याको साथै उपत्यका प्रहरी कार्यालय र ७ वटै प्रदेशमा कार्यरत जनशक्तिबारे जानकारी दिएका छन् ।

प्रहरीको इकाईगत संख्या, अन्य निकायको समन्वयमा परिचालित प्रहरी इकाईहरू, नेपाल प्रहरीको भैतिक संरचनाहरूको संख्यात्मक विवरण तथा हालको अवस्था र अस्थायी पोष्टमा कार्यरत एवम् नयाँ स्तरवृद्धिको लागि माग भएका इकाईहरू बारेमा संख्यागत विवरण डीआइजी कार्कीले प्रस्तुत गरेका छन् ।

उक्त अवधिमा भएका नयाँ नियुक्तिको लागि सिफारिस, छनौटको क्रममा रहेका पदहरू, नयाँ नियुक्ति, पदस्थापन, सरूवा, बढुवा, कारवाही तथा पुरस्कारको साथै स्वदेश तथा वैदेशिक प्रशिक्षण र प्रहरी कल्याण कोषबारेमा तथ्याङ्क सहितको विवरण प्रस्तुत गरेका छन् ।

एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै प्रदेशगत मुद्दा दर्ता, तुलनात्मक अपराध तथ्याङ्क, मुख्य अपराधहरू, फैसला कार्यान्वयन र बालबालिका खोजतलास सन्बन्धी तथ्याङ्क समेत प्रवक्ता समेत रहेका डीआइजी कार्कीले बताए ।

सो अवधिमा भएका गम्भीर प्रकृतिका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, सूचना प्रवाह र प्रहरी सेवा, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता, विपद् व्यवस्थापन, राजस्वमा योगदान, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाको लक्ष्यगत कार्य प्रगति विवरण, हासिल गरेका मुख्य उपलब्धीहरूबारेमा पनि कार्कीले जानकारी गराएका छन् ।

डीआइजी कार्कीले अपराध नियन्त्रण र अनुसन्धान, भौतिक पूर्वाधार क्षमता अभिवृद्धि र स्रोत व्यवस्थापन योजना, सूचना प्रविधि र सञ्चार, कार्य र स्वास्थ्य सेवातर्फ नेपाल प्रहरीको भावी योजना सम्बन्धी विस्तृत रूपमा जानकारी दिएका छन् ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन तथा कार्ययोजना २०८१ सम्बन्धी प्रस्तुतीकरण गरेका छन् ।

उनले विगत ५ आर्थिक वर्षको अपराध शीर्षक अनुसारको तुलनात्मक कसूर दर्ता विवरण, आत्महत्याको घटना, घर परिवार, नाता सम्बन्ध, इष्टमित्रभित्र आत्महत्या तथा आत्महत्या प्रयासको घटनाको अवस्था, आत्महत्याको प्रयास गरेका व्यक्तिहरूलाई समुदायको व्यवहारको अवस्था, आत्महत्याका कारण सबैभन्दा बढी असर परेको समूह तथा वर्ग लगायतका विषयमा जानकारी दिएका छन् ।

Published : Sunday, 2024 July 21, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया