बागमतीको मुख्यमन्त्री कांग्रेसका लामा, यी हुन् एमालेका मन्त्री

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह लामाले मुख्यमन्त्री पदमा दाबी पेश गरेका छन् ।

मंगलबार लामाले मुख्यमन्त्री पदमा दाबी पेश गरेका हुन् । एमालेको समर्थनमा उनले दाबी पेश गरेका छन् ।

कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थनसहित लामाले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

मंगलबार नै साँझ पाँच बजेपछि प्रदेश प्रमुख शर्माले लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

नुवाकोटका लामा बागमती प्रदेशमा कांग्रेसबाट र तामाङ समुदायबाट पहिलो पटक मुख्यमन्त्री बन्दैछन् ।

बागमतीमा मन्त्रालय भागबण्डामा कांग्रेस–एमालेबीच सहमति भइसकेको छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालयसहित ६ वटा मन्त्रालय लिने सहमति भएको कांगेस नेता लामाले बताए ।

यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय कसले लिन भन्ने विवाद थियो । एमालेलाई कृषि मन्त्रालय दिएर मन्त्रालय बाँडफाँड टुंग्याइएको लामाले बताए ।

उता, एमालेले काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, ललितपुरका प्रेम भक्त महर्जन, भक्तपुरका किरण थापामगर, चितवनका कृष्ण सिलवाल र सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाउन लागेको छ ।

Published : Tuesday, 2024 July 23, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया