लुम्बिनीमा मुख्यमन्त्री र मन्त्रीहरुको शपथ आज, कांग्रेस-एमालेबाट को-को छन् मन्त्री ?

बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यसहित नेपाली कांग्रेस र नेकपा (एमाले)का मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।

बुधबार बिहान बुटवलमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेचरनले मुख्यमन्त्री आचार्यसहितका मन्त्रीहरुलाई शपथ गराउनेछन् । मन्त्री बन्नेहरुको नाम अनौपचारिक रुपमा बाहिर आए पनि शपथ लिने क्रममा केही नाम हेरफेर हुन सक्ने स्रोतको भनाइ छ । कांग्रेस र एमालेका मन्त्रीहरुलाई विनाविभागीय मन्त्रीका रुपमा शपथ गराइनेछ । दुई दिनपछि मन्त्रालय तोकिने नेपाली कांग्रेस संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए ।

कांग्रेसबाट संविधान सभाका सदस्य समेत रहेका बादशाह कुर्मी, जन्मजय तिमिल्सिना, पूर्वमन्त्री समेत रहेका रोज राणा, धनेन्द्र कार्की, प्रचण्डबिक्रम न्यौपाने लगायतले शपथ लिने तयारी गरेको उच्च स्रोतले जनाएको छ । कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका राणा बाहेक सबै नयाँ हुन् । थापा यसअघि उद्योग तथा यातायात व्यवस्थामन्त्री बनेका थिए । कांग्रेसबाट दोहोरिने राणा एकमात्र मन्त्री हुन् ।

कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका कुर्मी बाँके ३ (२), तिमिल्सिना बर्दिया २ (१), प्यूठान १ (२), कार्की गुल्मी १ (२), न्यौपान दाङ २ (२) बाट निर्वाचित भएका हुन् ।

उता, एमालेबाट लुम्बिनी प्रदेश सरकारमा रूपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेम सारु र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन् । मन्त्री हुनेहरु ढकाल रूपन्देही ५(१), पन्थी गुल्मी २(२), सारु पाल्पा १(२) र शर्मा समानुपातिकबाट निर्वाचित हुन् । ढकाल यस अघिको मन्त्रिपरिषद्मा खानेपानी तथा सहरी विकास र पन्थी आन्तरिक मामिला तथा कानूनमन्त्री थिए ।

स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका एक प्रदेश सभा सदस्यले पनि मन्त्री पदको शपथ लिने तयारी भएको बुझिएको छ ।

Published : Wednesday, 2024 July 24, 6:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया