सौर्यको जहाज दुर्घटनाको जिम्मा प्रदीपले लिनुपर्ने, प्रदीप आएपछि ७ दुर्घटनामा २ सय १८ को मृत्यु

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समिति समक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा समितिको बिहीबार बसेको बैठकले एकसाताभित्र प्रतिवेदन समितिमा पेस गर्न पर्यटनमन्त्री बद्री पाण्डेलाई निर्देशन दिने निर्णय गरेको सभापति राजकिशोर यादवले बताए ।

समितिले चिठी लेखेर आइकाओको प्रतिवेदन मगाउँदा पनि प्राप्त नभएको भन्दै सभापति यादवले अब चिठी लेख्न नपर्नेगरी समयभित्रै प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयकबारे समितिलाई जानकारी गराउन पनि सभापति यादवले पर्यटन मन्त्रालयलाई निर्देशन दिएका छन् ।

पर्यटन मन्त्रालयको पहलकदमीले विधेयक अगाडि बढ्न नसक्ने हो भने प्रधानमन्त्री तहमा कुरा गरेर भए पनि अगाडि बढाउन समितिले सक्रियता देखाउने सभापति यादवले बताए ।

‘प्राधिकरण विभाजनसम्बन्धी विधेयक कहाँ र कुन अवस्थामा छ, अर्को बैठकमा आउँदा समितिलाई जानकारी गराउनुपर्छ’, सभापति यादवले भने ।

सभापति यादवले डेढ वर्षको अवधिमा काम गरेको जानकारी भएको तर, परिणाम नदिएको भन्दै अबका दिनमा कुरा हैन परिणाम चाहिने बताए ।

समितिका अधिकांश सांसदले मुलुकको हवाई सुरक्षालाई दृष्टिगत गर्दै प्राधिकरण विभाजनसम्बन्धी विधेयक अगाडि बढाउन माग गरेका छन् ।

तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–२०७६’ विसं २०७६ फागुन ११ मा राष्ट्रियसभामा दर्ता गराएका थिए ।

नेपाल नागरिक उड्डयन प्राधिकरण एने–२०५३ अन्तर्गत स्थापित प्राधिकरणले नियमन र हवाई सेवा प्रदायक दुवै सेवा दिँदै आएको छ ।

नियामक र सेवा प्रदायक गरी अलग–अलग निकायको रुपमा बनाउने प्रयोजनका निम्ति उक्त विधेयक अगाडि बढाइएको हो । विसं २०७८ साउन १८ गते राष्ट्रिय सभाबाट पारित उक्त विधेयक अहिले निष्क्रिय छ । विक्रम संवत् २०७९ असोज १ गते प्रतिनिधिसभाको कार्यकाल समाप्त भएकाले निष्क्रिय भएको छ ।

समितिले युरोपेली संघ (इयू)को सुरक्षा सूचीबारे के कति प्रगति भएको हो र अब कतिसमयपछि नेपाल उक्त सूचीबाट हट्छ भन्नेबारे विस्तृत विवरणसहित समितिको अर्को बैठकमा उपस्थित हुन प्राधिकरणलाई निर्देशन दिएको छ ।

कोरियन एयरलाइन्सको एकाधिकार तोड्न र नेपाल एयरलाइन्सको विमान कोरिया उडान सम्बन्धमा जानकारी दिन तथा यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी प्रतिवेदन पनि समितिलाई उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पसल कवल भाडामा लगाउनेसम्बन्धी कागजात एक साताभित्र समितिमा पेस गर्न पनि समितिले निर्देशन दिएको छ ।

बेठकमा सांसदहरूले मुलुकको हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको नेतृत्वप्रति चर्को आलोचना गरेका छन् ।

विमान दुर्घटना हुने क्रम बढेको उल्लेख गर्दै उनीहरुले देशको छविसँग पनि जोडिएको संवेदनशील विषयमा प्राधिकरण नेतृत्व र सरोकारवाला टुलुटुलु हेरिरहन नहुने धारणा राखे ।

सांसदहरूले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनासहित हालसम्म भएका विमान दुर्घटना र मानवीय क्षतिबारे कसले जिम्मा लिने भनी प्रश्न उठाएका छन् ।

सांसदहरूले प्रत्येक विमान दुर्घटनापछि छानबिन समिति बन्ने र समितिको प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति देखिएको भन्दै विमान दुर्घटनाबारे निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानूनी कारबाही गर्नसमेत माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद उदयशम्शेर जबराले विमान दुर्घटनाको जिम्मेवारी प्राधिकरण नेतृत्वले लिनुपर्ने बताए ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि विभिन्न विमान दुर्घटनामा एकसय भन्दा बढीको मृत्युभएको भन्दै जबराले बुधबारको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा पनि प्राधिकरणको गम्भीर लापर्बाही रहेकाले जिम्मेवार पदाधिकारीलाई कानूनी दायरामा ल्याउन सरकार समक्ष माग गरेका छन् ।

हरेक विमान दुर्घटनापछि जाँचबुझ आयोग गठन हुने र प्रतिवेदन कार्यान्वयन नहुने प्रवृत्ति रहेको भन्दै सांसद जबराले यसप्रति सरकार गम्भीर हुनुपर्ने बताएका छन् । नियामक प्राधिकरण र नेपाल वायुसेवा निगमबीच दोषारोपण गरेर मुलुकको हवाई सुरक्षामा गम्भीर लापर्बाही गरेको जबराले बताएका छन् ।

‘हवाई सुरक्षालाई छुट्टै नियमनका रुपमा अगाडि नबढाउदासम्म हवाई सुरक्षा बलियो हुँदैन त्यसैले जाँचबुझ आयोगको अध्ययनपछि कार्यान्वयनमा लैजानुपर्छ’, जबराले भनेका छन् ।

रास्वपाका सांसद शिशिर खनालले मुलुकको हवाई सुरक्षा पेचिलो बन्दै गएको भन्दै विमान दुर्घटनामा जिम्मेवार निकायलाई कानूनी दायरामा ल्याउनुपर्ने बताए । खनालले प्राधिकरणको वर्तमान नेतृत्वको साढे दुई वर्षमा भएका सात दुर्घटनामा परी दुई सय १८ जनाको मृत्यु भएको भन्दै विमान दुर्घटनाको नैतिक दायित्व र जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

‘एयर सेफ्टी एजेन्सी र नेतृत्वमा समस्या छ भन्ने अध्ययनले देखाएको छ’, खनालले भने, ‘बारम्बारको विमान दुर्घटना र मानिसको निधनप्रति नैतिक जिम्मेवारी लिनुपर्छ ।’

माओवादी केन्द्रका सांसद सुदन किराँतीले समग्र हवाई सुरक्षा प्रणालीको सुधारका लागि प्राधिकरण विभाजन विधेयक अगाडि बढाइनुपर्ने बताए ।

एमालेका सांसद हरिप्रसाद उप्रेतीले हवाई सुरक्षा अभिवृद्धिमा सबैको ध्यान जानुपर्ने बताएका छन् । माओवादीका सांसद हितबहादुर तामाङले अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी व्यवस्थापन गरिनुपर्ने बताए ।

कांग्रेसका सांसद विमलेन्द्र निधिले जसरी पनि युरोपियन युनियन (इयू)को सुरक्षा सूचीबाट हटाउन पहलकदमी गरिनुपर्ने बताए ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँगको सेटिङमा अधिकारी नेपाल नागरिक उड्डय प्राधिकरणको महानिर्देशक बनेर दुई वर्ष अगाडि आएपछि सात वटा हवाइ दुर्घटना भएका छन् । ती दुर्घटनामा २ सय १८ जनाको मृत्यु भइसकेको छ । यी दुर्घटनाको जिम्मा महानिर्देशक अधिकारीले लिनुपर्ने सांसदहरूको माग छ । महानिर्देशक अधिकारी हवाइ सुरक्षा कसरी बनाउने हो भन्ने विषयमा भन्दा पनि विभिन्न लाभका लागि गतिविधिहरू गरेको आरोप छ ।

Published : Friday, 2024 July 26, 12:04 am

फेसबुकबाट तपाईको प्रतिक्रिया