कांग्रेसले कारबाही गरेर हटाएका पूर्वमन्त्री जोशी भ्रष्टाचारी ठहर
काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा आइतबार भएको अन्तिम सुनुवाइपछि जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् ।
जोशीलाई सर्वोच्चले एउटा मुद्दामा ९ महिना कैद सजाय पनि सुनाएको छ । जोशीलाई सर्वोच्चले ६९ लाख १५ हजार रुपियाँ जरिवाना र ९ महिना कैद सजाय सुनाएको छ ।
विशेष अदालतले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ करोड १६ लाख १४ हजार ३७६ रुपियाँ गैरकानूनी आर्जन गरेको फैसला दिएको थियो । त्यसबेला विशेषले उनलाई डेढ वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो ।
जोशी भ्रष्टाचारमा मुछिएको प्रकरणमा सात थान मुद्दा सर्वोच्चमा थिए । ती सबैको छिनोफानो आइतबार भएको हो । जोशीले आफूसँग जोडिएका मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च गएका थिए ।
२०६९ फागुन ६ गते सर्वोच्चमा जोशीविरुद्ध नेपाल सरकारले दर्ता गराएको निवेदनसहित उनले पनि दायर गरेको पुनरावेदन पेश भएको थियो । भ्रष्टाचार मुद्दामध्ये यो भीआईपी प्रतिवादी जोडिएकव र पुरानो मुद्दा थियो ।
जोशी गैरकानूनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको एउटा मुद्दामा दोषी ठहर भएका हुन् । अर्को भ्रष्टाचार मुद्दामा भने सर्वोच्चले विशेषको फैसलालाई केही उल्टी गरेर घटाइदिएको छ ।
१२ वर्षदेखि सर्वोच्चमा विचाराधीन उक्त मुद्दा एक सय न्यायाधीशको इजलासमा पेशी तोकिएर अन्तिम छिनोफानो आइतबार भएको छ ।
जोशीसँगै भ्रष्टाचार मुद्दा खेपेका जयप्रकाश गुप्ता, स्व.खुमबहादुर खड्का र अन्य प्रतिवादी सर्वोच्चबाट फैसला भएर कैद सजाय भुक्तान गरिसकेका छन् । जोशीको मुद्दा अड्किएको थियो ।
जोशीलाई विशेष अदालतले २०६९ साउन १० गते भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो । उनीसँग त्यसबेला बिगो र जरिवानासहित ४ करोड ३२ लाख र डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६२ सालमा जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन करोड ९३ लाख ६२ हजार रुपियाँ भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालतमा मुद्दा चलाएको थियो ।
अख्तियारले जोशीसहित आफन्तहरू ताराराज पाण्डे, वासुदेव पन्त र रामकृष्ण तिवारीलाई पनि अकुत सम्पत्ति लुकाउन सहयोगी बनेको भन्दै भ्रष्टाचार मुद्दा हालेको थियो ।
तनहुँ जिल्लामा भएको प्रतिनिधि सभाको उपनिर्वाचनमा पूर्वमन्त्री जोशी र उनको समूहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई समर्थन गरेर जिताएको थियो ।
पूर्वमन्त्री जोशीको अराजक र अनुशासनहीन गतिविधिका कारण नेपाली कांग्रेसले अनुशासनको कारबाही गरेर हटाएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया