विवादित एआईजीपी ज्ञवालीमाथि अनुसन्धान गर्न हेडक्वाटरबाट समिति गठन

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)का एआईजीपी श्यामलाल ज्ञवालीविरुद्ध परेका उजुरीहरूमाथि अनुसन्धान गर्न छानविन समिति बनाएको छ ।

नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको उच्च स्रोतले जनाएको छ । सुन तस्करी प्रकरणका आरोपित जीवन चलाउनेले एआईजीपी ज्ञवालीका बारेमा निकै ठूलो खुलासा गरिसकेका छन् । तैपनि ज्ञवाली बचेका छन् । नागरिकताको जन्ममिति प्रकरण लगायत विभिन्न काण्डहरूमा एआईजीपी ज्ञवाली मुछिएका छन् ।

६० किलो सुन प्रकरणमा फरार रहेका जीवन चलाउनेको विषय, उमेर विवाद, नक्कली सर्टिफिकेट, आफ्ना छोराछोरीलाई विदेशमा राखेको लगायत विषयहरू छन् ।

सुन तस्करीको अनुसन्धानमा बदनियत राखेको आरोप लगाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले सीआईबीबाट एआईजीपी किरण बज्राचार्यलाई हटाएर चैत पहिलो साता एआईजीपी ज्ञवालीलाई पठाएका थिए ।

ज्ञवाली सीआईबीमा गएपछि सुन तस्करीमा संलग्न कुनै पनि व्यक्तिमाथि थप अनुसन्धान भएन । तत्कालीन गृहमन्त्री लामिछानेविरुद्ध पीडित बचतकर्ताले दिएको उजुरीका आधारमा सीआईबीले गरेको अनुसन्धानसमेत दबाए ।

बालमन्दिर जग्गा प्रकरणमा मृतकका नाममा पनि अदालतबाट पक्राउ पुर्जी जारी गराएको, बालमन्दिर प्रकरणसँगै जोडिएका व्यापारीसँग अस्वाभाविक हिमचिम गरेको, तत्कालीन सेन्चुरी बैंकको कर्जा हिनामिना प्रकरणमा आरोपितहरूसँग नाजायज र अस्वाभाविक सम्बन्ध राखेको लगायत विषयमा छानबिन गर्न समिति गठन भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

केही मुद्दाका प्रतिवादीसँग आर्थिक लेनदेन गरेको आरोपमा सूक्ष्म अनुसन्धान भइरहेको छ ।

एआईजीपी ज्ञवाली आउँदो भदौ २६ गते अवकासमा जाँदैछन् । अवकासमा जानुभन्दा केही दिन अगाडि प्रहरी हेडक्वाटर नक्सालले एआईजीपी ज्ञवालीविरुद्ध परेका उजुरीहरूमाथि अनुसन्धान गर्न छानविन समिति बनाएको छ । ज्ञवालीमाथि लागेका आरोपहरू पुष्टि भयो भने ठूलो कारबाही हुन सक्नेछ ।

Published : Wednesday, 2024 July 31, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया