लालीगुराँसले ३ पटक कार्ययोजना पेश गरेर समय माग गर्दा पनि दिइएन, संस्थालाई ठूलो अन्याय
काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अचानक संस्थालाई समस्याग्रस्त घोषणा गरि संस्था बन्द गरिएको भन्दै संस्था सञ्चालनका लागि सहयोगको माग गरेको छ ।
लालीगुराँसले विज्ञप्ति जारी गरेर संस्था पुनः सञ्चालनका लागि सम्बनिधत निकायहरूमा न्यूनतम १ वर्षको अवधि माग गरिए पनि समय नदिइएको जनाएको छ ।
‘संस्थाले वित्तीय कारोबारको अतिरिक्त बहुउद्देश्यीय कार्यक्रम अन्तर्गत विभिन्न परियोजनाहरू गरेको । चितवन जिल्ला, खैरहनी नगरपालिका वडा नं. १२ कुमरोजमा नेपालको सबैभन्दा ठूलो लालीगुराँस डेरी फर्म एण्ड रिसर्च सेन्टरमा ६ सयभन्दा बढि गाई पालन गरि त्यसबाट दैनिक रुपमा उत्पादित कच्चा दुध ललितपुरको गोदावरी नगरपालिका वडा नं. ३ , किटिनीमा सञ्चालित श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योगमा प्रोसेसिङ्ग गरि त्यसबाट दुध तथा दुग्धजन्य पदार्थका परिकारहरू उत्पादन गरि बजारमा बिक्री गर्दै आइरहेको र संस्था सञ्चालन तथा संस्थाद्वारा सञ्चालित परियोजनासँ सम्बन्धित रही समग्रमा २५० भन्दा बढि कर्मचारीहरूले रोजगारी प्राप्त गर्दै आएका छन् ।’
‘नेपालको सहकारी क्षेत्रमा स्थापनाकालदेखि नै अग्रणी भूमिका निर्वाह गर्दै आएकोमा विगत ३ वर्षदेखि देशको वित्तीय क्षेत्रमा देखिएको आर्थिकमन्दी तथा सोको असर सहकारी क्षेत्रमा पनि परेको अवस्थामा संस्थाको तरलता व्यवस्थापन समस्या समाधान गर्दै संस्था सञ्चालन गरिरहेकोमा अचानक संस्थालाई समस्याग्रस्त घोषणा गरि संस्था बन्द गरिएको हुँदा संस्थागत सुधार गर्दै संस्था पुनः सञ्चालनको लागि सम्बनिधत निकायहरूमा न्यूनतम १ वर्षको अवधि माग गरिएको व्यहोरा जानकारी गराउँदै उक्त कार्यमा सम्पूर्ण साथीहरूको पूर्ण सहयोग तथा साथको अपेक्षा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।
लालीगुराँसले सम्बन्धित निकायमा तीन पटकसम्म कार्ययोजना पेश गरेको थियो । कार्ययोजना पेश गर्दा समेत कार्ययोजनामा छलफलका लागि एकपटकपनि नबोलाइएको विज्ञप्तिमा जनाइएको छ ।
लालीगुराँसले संस्थालाई समस्याग्रस्त घोषणा गरेपछि समस्याग्रस्त समितिको निर्देशन अनुरुप बोलाइएका सम्पूर्ण बैठकहरूमा सञ्चालक समिति लगायत कर्मचारीहरूको उपस्थिति रहेको साथसाथै आवश्यक सहयोग गरिएको जनाएको छ ।
समितिलाई संस्था वित्तीय अवस्थाको जानकारी तथा आधारसहितको कार्ययोजना तयार गरि पहिलो पटक २०८० चैत ८ र दोस्रो पटक २०८१ वैशाख २५ गते तथा तेस्रो पटक २०८१ जेठ ३१ गते कार्ययोजना दर्ता तथा अध्ययन नभएको साथै उक्त कार्ययोजना उपर छलफलको लागि समेत नबोलाइएको विज्ञप्तिमा उल्लेख छ ।
३ वर्षदेखि नेपालको वित्तीय बजारमा देखिएको तरलता व्यवस्थापन समस्याका बाबजुद पनि संस्थाले सदस्यहरूको बचत रकम फिर्ता गरि दैनिक कार्यलाई निरन्तरता दिँदै संस्था सञ्चालन गरेको अवस्थामा, केही सदस्यहरूको उजुरी परेको भनि सोही आधारमा संस्थालाई समस्याग्रस्त घोषणा गरिएको र केही सदस्यहरूसँग समितिमा बसी पटक पटक छलफल गर्दा समेत संस्थालाई न्यूनतम १ वर्षको समयावधि उपलब्ध गराइदिनु भनि माग गर्दा समितिबाट पनि उक्त विषयमा कुनै पनि प्रतिक्रिया नदिएको विज्ञप्तिमा लालीगुराँसले उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सहकारी विभागले उजुरी उपर परेको भनिएका सदस्यहरूको सम्बन्धमा छलफल नगराई भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा समस्याग्रस्त घोषणाको लागि सिफारिस गरिएकोमा मन्त्रालयबाट समेत उक्त विषयमा छलफल नगराई सोही सिफारिसको आधारमा विज्ञप्ति जारी गरि संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।’
उच्च अदालत पाटन तथा सर्वोच्च अदालतबाट सहकारी विभागमा उजुरी परेको भनिएका सदस्यहरूको सक्कल निवेदन पटक पटक माग गर्दा समेत सहकारी विभागबाट उपलब्ध गराउन नसकेको लालीगुराँसले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘संस्थालाई समस्याग्रस्त घोषणा गरि सम्पत्ति व्यवस्था तथा दायित्व भुक्तानीको लागि समस्याग्रस्त व्यवस्थापन समितिले जिम्मेवारी लिई कार्य शुरुवात गरे पश्चात सदस्यहरूले बचत रकम फिर्ताको लागि समितिमा माग दाबी गरेको साथै सोही सदस्यले विभिन्न निकायमा उजुरी गरि सोही उजुरीलाई दर्ता प्रक्रिया अगाडि बढाई केही सञ्चालकहरूलाई हिरासतमा समेत लिइएको छ ।’
कोरोनापछि सहकारीका साथै विभिन्न वित्तीय संस्थाहरू धरासायी बनेका छन् । लालीगुराँसले आफ्ना बचतकर्ताको रकम फिर्ताका लागि १ वर्षको समय माग गरेर कार्ययोजना पेश गर्दा समिति मागको कुनै सुनवाई नगरेर सिधै लालीगुराँसको सम्पत्ति हडप्ने उद्देश्यले समस्याग्रस्त घोषणा गरेको जानकारहरूको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया