एमालेका आचार्यद्वारा राज्यलाई आर्थिक भार पारेर घर नजिकै मुख्यमन्त्री कार्यालय र निवास स्थापना
बुटवल । एमालेबाट लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका चेतनारायण आचार्यले बुटवलमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवासलाई पुनः सञ्चालनमा ल्याएका छन् ।
अर्घाखाँचीका बासिन्दा मुख्यमन्त्री आचार्यको बुटवलस्थित बेलबासमा पनि घर छ । बेलबास र मुख्यमन्त्रीको सम्पर्क कार्याल तथा निवास आचार्यको घरबाट १ किलो मिटर मात्रै टाढा छ ।
घर हुँदाहुँदै राज्यलाई आर्थिक भार पर्ने गरेर मुख्यमन्त्रीको सम्पर्क कार्यालय र निवास स्थापना गरेपछि विरोध भइरहेको छ । मुख्यमन्त्री आचार्यलाई देउखुरीमा सरकारी निवास छ ।
बुटवलको मिलनचोकको सडक विभाग परिसरमा रहेको आन्तरिक राजश्व कार्यालयको भवनमा रहेको कार्यालयलाई निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले हटाएका थिए । महराले हटाएको सम्पर्क कार्यालय र निवासलाई हालका मुख्यमन्त्री आचार्यले स्थापना गरेका छन् ।
तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालादेखि ०७४ सालबाट सो भवनमा मुख्यमन्त्रीको निवास थियो । प्रदेश राजधानी दाङको देउखुरीमा सरेपछि निवासलाई सम्पर्क कार्यालय बनाइएको थियो ।
बुटवलमा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार मातहतका निर्देशनालय सहित अन्य धेरै सरकारी कार्यालय पनि बुटवलमा रहेकाले सम्पर्क कार्यालय आवश्यक भएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।
मुख्यमन्त्री आचार्यले आफू हरेक शुक्रबार बुटवलमा आउने र आइतबार बिहानसम्म बस्ने बताएका छन् । सम्पर्क कार्यालयमा एक जना सचिवालयका कर्मचारी राख्ने मुख्यमन्त्री आचार्यले बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया