प्रधानमन्त्री ओली र बागमतीका मुख्यमन्त्री लामाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी ओलीसँग बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले भेटवार्ता गरेका छन् ।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ओलीसँग लामाले भेट गरेका हुन् ।
मुख्यमन्त्री लामासँगको भेटमा प्रधानमन्त्री ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको बताएका छन् ।
ओलीले संघीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरेका छन् ।
ओलीले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गरेका छन् ।
‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी वागमती प्रदेशमा रहेका विद्यमान विकृति, विसंगति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु’, प्रधानमन्त्री ओलीले भने ।
‘मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुने गरी, सुख दुखमा साथ दिने गरी, आफ्नो जिम्मेवारी कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ’, ओलीले भने ।
नेपाली कांग्रेसबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका लामाले संघीय सरकारबाट सहयोगको अपेक्षा राखेको बताएका छन् । उनले बागमती प्रदेशको सरकारलाई सहयोग गर्न प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया