घोराहीमा मिटर व्याजकी नाइके माधवाको ७ जनाको ग्याङ पक्राउ
घोराही । जिल्ला प्रहरी कार्यालय दाङले अनुचित लेनदेन मुद्दामा ७ जनालाई पक्राउ गरेको छ ।
साउन २० गते अनुचित लेनदेन सम्बन्धी कसूर मुद्दामा ७ जनालाई पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा २ जना पुरुष र ५ जना महिलाहरू रहेका छन् । पक्राउ पर्नेमा दाङको बिजौरी– २ घर भई हाल घोराही उप–महानगरपालिका वडा नं.१५ वीपी चोक बस्ने वर्ष ५७ की माधवा बस्नेत, माधवा बस्नेतका श्रीमान् वर्ष ५८ का धर्मबहादुर बस्नेत, घोराही उप–महानगरपालिका वडा नं.१५ बस्ने यामाकुमारी बस्नेत, घोराही उप–महानगरपालिका वडा नं.८ बस्ने वर्ष ५१ का तिलकबहादुर महरा क्षेत्री, घोराही उप–महानगरपालिका वडा नं.१५ प्रगतीनगर टोल बस्ने वर्ष ५३ की पार्वता केसी, घोराही उप–महानगरपालिका वडा नं.१५ बस्ने वर्ष ३४ की ममताकुमारी केसी डिसी, घोराही उप–महानगरपालिका वडा नं.१५ बस्ने वर्षीया ३७ की ऋषा बोहरा रहेका छन् ।
पक्राउमा परेकी प्रतिवादी मध्येकी माधवा बस्नेतले दाङमा बस्ने मानिसहरूलाई ऋण लगानी गर्ने, चर्को ब्याज असुल्ने, ऋण लिने गरेको अभियोग छ ।
उनले मानिसहरूबाट खाली चेकमा दस्तखत गराई चेक लिने गरेको र चेक नभएका मानिसहरूसँग ऋण लिएको आरोप छ ।
माधवाले बढी रकम राखी तमसुक बनाई ऋण दिँदै आएकी थिइन् । उनले ऋणीहरूसँग सावा ब्याज बापत रकम असुल गरी सकेपछि पीडितहरूलाई थप पीडा दिने गरेकी थिइन् ।
पीडितले दिए गरेको तमसुक तथा दिएको चेक माग गर्दा माधवाले हराएको, मैले च्याती फाली दिउला भनी बहाना बनाई केही चेकहरूमा आफ्नै नाम राखी बाउन्स गराउने गरेको अभियोग छ ।
आफ्नो नाममा बनाएको तमसुक मार्फत आफूले दाङ जिल्ला अदालतमा चेक अनादर तथा लेनदेन कसूरमा मुद्दा दिई अनुचित लेनदेनको कुरा दाङ जिल्ला अदालतबाट म्याद गएपछि मात्र जाहेरवालाहरूले थाहा पाएका थिए ।
माधवाले केही तमसुक आफ्नो नजिक नातेदारहरूलाई लोभलालच देखाई पीडितहरूको नाममा गराएको र ऋणीहरूबाट लिएको दस्तखत मात्र गरेको खाली चेकमा समेत आफ्नो नजिक नातेदार तथा आफन्तलाई लोभलालच देखाई निजहरूको नाम उल्लेख गरी आफूखुसी रकम भरी चेक दिई चेकलाई सम्बन्धित बैंकबाट बाउन्स गराएको प्रहरीले जनाएको छ ।
दाङ जिल्ला अदालतमा हाल जाहेरवालाहरूको नाममा चेक अनादर तथा लेनदेन कसूर मुद्दामा मुद्दा दर्ता गरेपछि अदालतबाट जाहेरवालाहरूको नाममा म्याद गएपछि मात्र थाहा पाई अन्यायीहरूबिरुद्ध साउन २० गते जिल्ला प्रहरी कार्यालय दाङमा अनुचित लेनदेन कसूर मुद्दामा किटानी जाहेरी दरखास्त दर्ता भएको छ ।
जाहेरी दरखास्तमा उल्लेखित व्यक्तिहरूलाई पक्राउ गरी अदालतबाट म्याद थप भई विस्तृत अनुसन्धान कार्य भइरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया