प्रदीपले जिम्मेवारी सम्हालेपछि ८ वटा ठूला हवाइ दुर्घटना, मन्त्रीद्वारा पूर्वमहानिर्देशकहरूसँग छलफल
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको असक्षमताका कारण हवाइ दुर्घटनाहरू बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्द्री पाण्डेले हवाई दुर्घटना न्यूनीकरणबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्री पाण्डेले पूर्वमहानिर्देशकहरूसँग छलफल गरेका हुन् । पूर्वमहानिर्देशकहरूले कतिपय विमान कम्पनीले नागरिक उड्डयनका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमा मान्यता दिइएको तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ)ले तोकेको सेफ्टी मेनेजमेन्ट सिस्टम (एसएमएस) लागू नगरेको बताएका छन् ।
उनीहरूले विमान चालक तथा प्राविधिक जनशक्ति लागि आवश्यक सुरक्षासम्बन्धी तालिम आदिमा न्यून लगानी गरेको विषयमा पनि मन्त्री पाण्डेको ध्यानाकर्षण गराएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको पूरै संरचना र सञ्चालनबारे थर्ड पार्टी अडिट गराउन आवश्यक भएको सुझाव दिएका छन् । त्यसका लागि अन्तर्राष्ट्रियस्तरका ख्यातिप्राप्त संस्थाबाट विज्ञ ल्याउन सकिने सुझाव दिइएको छ ।
दुर्घटनाको जाँच स्वतन्त्र नहुने, जाँच समितिले दिएको प्रतिवेदन कार्यान्वयन नहुने र त्यसको फलोअप नभएको हुँदा त्यसतर्फ मन्त्रालयले ध्यान दिनुपर्ने सुझावहरू दिइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को समग्र पक्षमा सुक्ष्म निगरानी गरी सुधार गर्नुपर्ने र त्यसका लागि विचाराधीन विधेयकहरू संसदबाट पास गराउने पहल गर्नु पर्ने सुझाव आएको छ ।
मन्त्री पाण्डेले पूर्व महानिर्देशकहरूलाई बोलाएर नेपालको हवाई क्षेत्रका समस्या र सवालबारे छलफल गरेका हुन् । नीतिगत, कानुनी, र संरचनागत सुधारका लागि मन्त्री पाण्डेले पूर्वमहानिर्देशकहरूबाट सुझाव मागेका छन् ।
प्राधिकरणका महानिर्देशक अधिकारीले जिम्मेवारी सम्हालेपछि ८ वटा ठूला हवाई दुर्घटना भएका छन् । त्यसको जिम्मेवारी अधिकारीले लिएका छैनन् । महानिर्देशक अधिकारीलाई निलम्बन गरेर अनुसन्धान र छानविन गर्न सुझाव आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया