प्रेमले नियुक्त गरेका प्रदीप आउनेवित्तिकै ८ हवाई दुर्घटना, असक्षम महानिर्देशक हटाउन सांसदहरूको माग

काठमाडौं । सांसदहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी ‘असक्षम’को आरोप लगाउँदै हटाएर कारबाही गर्न सरकारलाई दवाव दिएका छन् ।

अधिकारीले तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रभावमा पारेर महानिर्देशक पद हत्याएको आरोप लागेका बेला सांसदहरूले हटाएर कारबाही गर्न सरकारलाई सुझाव दिएका छन् । अधिकारीले प्राधिकरणको जिम्मेवारी सम्हालेपछि ८ वटा हवाई दुर्घटना भइसकेका छन् । सरकारले यती धेरै हवाई दुर्घटना हुँदा समेत महानिर्देशक अधिकारीलाई कारबाही गर्न सकेको छैन ।

दुई साताको अवधिमा दुई वटा हवाई दुर्घटना भएको छ । महानिर्देशक अधिकारीलाई सांसदहरू हटाउन दबाब दिएपछि हवाई क्षेत्रमा सुधार चाहनेहरूमा आशा पलाएको छ ।

बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले प्राधिकरणका महानिर्देशक अधिकारीमाथि प्रश्न तेर्साउँदै हटाउन सरकारलाई दबाब दिएका हुन् । सांसदहरूले हटाउन दबाब दिएपछि महानिर्देशक अधिकारी कालोनिलो बनेका छन् ।

दुर्घटनाको छानबिन अधिकारीकै मातहतमा हुँदा यसबाट सही प्रतिवेदन आउन नसक्ने भन्दै सांसदहरूले बर्खास्तीको माग गरेपछि सरकार महानिर्देशक अधिकारीलाई हटाउन लागेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बताएका छन् ।

पाण्डेले भने, ‘कानूनी र प्रक्रियासम्मत बाटोबाट जानको लागि त्यसका अप्ठ्यारा के हुन्, जटिलता के हुन्, हामी खोजी रहेका छौँ ।’

पाण्डेले भने, ‘मेरो पहलकदमीमा कुनै निर्णय होस् र त्यो निर्णय कुनै बाटोबाट पुनर्स्थापित होस् । अनि मन्त्री चाहिँ त्यही बसिराख्ने ? निर्णयमाथि कुनै चुनौती आओस् । त्यो निर्णय बदर भएपछि हिजोका दिनमा के भयो मलाईं थाहा छैन तर त्यही बस्ने नैतिकता हुँदैन ।’

सांसदहरूले पटकपटक विमान दुर्घटना हुन थालेको भन्दै प्राधिकरणको नियामकीय भूमिकामाथि प्रश्न उठाएका छन् ।

सांसदहरूले विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्ने र अधिकारीलाई निलम्बन वा बर्खास्त गरेर मात्रै छानबिन समिति बनाउनुपर्ने बताएपछि सरकारले त्यसमा कानूनी बाटो हेरिरहेको पाण्डेले बताए ।

क्यानले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्ने हुँदा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) रहने धारणा सांसदहरूले राखेका छन् । दुवै कामका लागि छुट्टाछुट्टै निकाय हुनुपर्ने उनीहरूले बताएका छन् ।

नेपाली कांग्रेस सांसद विमलेन्द्र निधिले भने, ‘हामीले आयोगमात्रै बनाएर हुँदैन । जबसम्म पदाधिकारी कायमै रहन्छन् । जति आयोग बनायो उहाँहरू खुसी हुनुहुन्छ । छानबिनको अर्थ के ? उहाँहरू रहीरहनुहुन्छ ।’

‘पहिले तत्कालै पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरेरमात्रै छानबिन गरियोस्’, निधिले भने, ‘तत्कालै आवश्यक एक्सनमा जानुहोस्, मन्त्रीज्यू ।’

सांसद उदयशम्शेर राणाले प्राधिकरणका महानिर्देशक अधिकारीलाई तत्काल बर्खास्त गरी निष्पक्ष छानबिन गर्नुपर्ने बताए ।

विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने अनि पाइलटलाई दोषी देखाउने गरिएको र नियामक पन्छिने गरेको भन्दै प्राधिकरणको कार्यसमितिलाई हटाएर मात्रै समितिले निष्पक्ष रिपोर्ट दिन सक्ने सांसद राणाले बताए ।

कांग्रेस सांसद राजेन्द्र बजगाइँले प्राधिरणका पदाधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । बजगाइँले महानिर्देशक अधिकारीलाई तत्कालै बर्खास्त गरेर नयाँ कदम चाल्न मन्त्री पाण्डेसँग आग्रह गरेका छन् ।

नेमकिपाका सांसद प्रेम सुवालले नेपालमा आउने विमान पुरानो भएर दुर्घटना भएको हो कि भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए ।

रास्वपाका सांसद शिशिर खनालले प्राधिकरणको नेतृत्वका कारण समस्या भएको भन्ने आएपछि नैतिकता देखाएर महानिर्देशक अधिकारीले राजीनामा दिनुपर्नेमा त्यो नभएपछि सरकारले तत्काल अधिकारीलाई महानिर्देशक पदबाट हटाउनुपर्ने बताए ।

सांसद खनालले प्राधिकरणले नै नियमन र छानबिन गर्ने हुँदा यसमा स्वार्थ बाँझिने बताए । ‘हालको महानिर्देशक प्रदीप अधिकारी नेतृत्वमा आएपछि आठ वटा दुर्घटना भइसके’, सांसद खनालले भने, ‘समस्या एउटा हो भन्ने बुझेपछि सरकारले त्यसमा सम्बोधन गर्नुपर्छ ।’

प्राधिकरणका महानिर्देशक अधिकारीले एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटनाको प्रारम्भीक रिपोर्टअनुसार खराब मौसमका कारण दुर्घटनामा परेको दाबी गरेका छन् ।

अधिकारीले खराब मौसम र बादलभित्र हेलिकोप्टर प्रवेश गरेका कारण दुर्घटना भएको देखिएको बताए । खराब मौसमका कारण फर्कनका लागि देव्रेतर्फ मोड्नेक्रममा दुर्घटना भएको अधिकारीले बताए ।

महानिर्देशक अधिकारीले खराब मौसम र बादलभित्र छिर्नका लागि कानूनले नै बर्जित गरेको अवस्थामा पाइलटले बादलमा लैजाँदा दुर्घटना भएको बताए ।

भीएफआरको उल्लंघन गरेका कारण दुर्घटना भएको देखिएको अधिकारीले बताए ।

हवाई क्षेत्रको सुधारका लागि विज्ञ सम्मिलित छानबिन समिति गठन गर्न सरकारलाई संसदीय समितिको निर्देशन संसदीय समितिले निर्देशन दिएको छ ।

नेपालको हवाई उडानको क्षेत्रमा देखिएको समस्या समाधान गर्न विज्ञहरूको संलग्नता एक स्वतन्त्र छानबिन समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।

नेपालको हवाई सुरक्षा, सुरक्षामापनको अवस्था तथा नेपालको विद्यमान नागरिक उड्डयनसम्बन्धी कानुन एवं अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्यान्वयन भए/नभएको सम्बन्धमा १५ दिनभित्र छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको सिफारिस गर्न विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति राजकिशोर यादवले बताए ।

समितिले हवाई दुर्घटना, सुरक्षा र नियमनसँग सम्बन्धित नेपाल सरकार र मन्त्रालयद्वारा गठित छानबिन समिति एवं कार्यदलमार्फत पेस भएका अध्ययन, अनुसन्धानमूलक प्रतिवेदनहरू के, कुन अवस्थामा रहेका छन्, सोको जानकारीसहितको विवरण समितिलाई यथाशीघ्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

नेपालको हवाई उड्डयनको सुरक्षासम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमा गर्न, नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र संघीय सदनमा पेस गर्न, गराउन पनि सरकारलाई निदेश गरिएको समितिले जनाएको छ ।

Published : Friday, 2024 August 9, 12:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया