कांग्रेस नेतृ लक्ष्मी खतिवडा भन्छिन्- राष्ट्रिय सहमतिको सरकार बन्नु अगाडि थाहा पाएको भए के के हुन्थ्यो ?

काठमाडौं । नेपाली कांग्रेसकी लक्ष्मी खतिवडाले राष्ट्रिय सहमतिको सरकार बनिसकेको भन्दै पार्टी नेतृत्वको प्रशंसा गरेकी छिन् ।

शुक्रबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै नेतृ खतिवडाले राष्ट्रिय सहमतिको सरकार बन्नु अगाडि थाहा पाएको भए के के हुन सक्थ्यो भनेर व्याङ्ग्य गरेकी छिन् । उनले कसैको पनि नाम नलिएर सूचना चुहिएको भए राष्ट्रिय सहमतिको सरकार बन्न नदिन चलखेल हुन सक्नेबारे उल्लेख गरेकी छिन् ।

खतिवडाले सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री समेत रहेकी केन्द्रीय सदस्य डा.आरजु राणाप्रति लक्षित गरेर राष्ट्रिय सहमतिको सरकार बनाउन विशेष भूमिका खेलेकोमा खुसी व्यक्त गरेकी छिन् ।

खतिवडाले भनिन्, ‘राष्ट्रिय सहमतिको सरकार बनिसक्यो । बन्नु अगाडि थाहा पाएको भए के के हुन्थ्यो ? अब बनिसकेपछि बनिसकेको सरकारमा पार्टीको तर्फबाट पनि मन्त्रीहरू बनिसक्नुभएको छ । उहाँहरूले जतिसक्दो जिम्मेवार ढङ्गले जनताको समस्या बुझ्ने गरेर जनसरोकारका सवालहरूमा राम्रोसँग मिहिन ढङ्गले काम गर्नुभयो भने त्यसले पार्टीलाई सार्थक बनाउनेछ ।’

उनले भनेकी छिन्, ‘महामन्त्रीको प्रतिवेदनका विषयमा हामीले पनि अध्ययन गरेका थियौँ । महासमितिको बैठकमा चर्चा परिचर्चा भए । परिवर्तित समयमा समय सापेक्षित परिवर्तनहरू गर्दै समयानुकूल परिवर्तन गर्दै यी प्रस्तावहरू पारित हुने छन् ।’

‘एक सय दिने सांगठनिक अभियानका विषयमा म बोल्नै पर्छ । म कार्यसमितिमा आइसकेपछि ३ वटा अभियानमा ३ वटा जिल्लाहरूमा गएँ’, खतिवडाले भनिन् ।

‘ओखलढुङ्गामा चुनाव अगाडिको अभियानमा जाँदा मैले राम्रोसँग आफ्नो कार्य सफलतासाथ सम्पन्न गर्न सकेँ । मकवानपुरमा पनि यहि अभियानमा थियौँ’, उनले भनिन्, ‘त्यो अभियान पनि राम्रोसँग सफलतापूर्वक सम्पन्न हुन सक्यो ।’

‘तेस्रो जिल्ला सप्तरी जिल्लाको हकमा मेरो तितो अनुभव छ । जिल्लामा प्रतिनिधि पठाउँदा सर्वाधिकार सम्पन्न त्यो प्रतिनिधिले त्यहिँ स्पोटमा डिसिजन गर्ने गरेर पठाउनु यात पदाधिकारी लेबलको जिम्मेवार मान्छेहरू सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीज्यूहरू को को जाँदा समस्या समाधान हुन्छ ? समस्या समाधान गर्ने गरेर गयौँ भने यो अभियान अर्थ हुन्छ । नत्र विवादित जिल्लाहरूमा यो अभियानको बारेमा एकपटक सोँच्नु होला ।’

नेतृ खतिवडाले अनुशासनको कारबाहीका विषयमा दोहोरो चरित्र नदेखाउन नेतृत्वलाई सुझाव दिएकी छिन् । पार्टीभित्र अन्तरघात गर्नेलाई कारबाही गर्न खुट्टा कमाउन नहुने बताएकी छिन् ।

उनले भनिन्, ‘अनुशासनको कारबाही…ओहो कति रमाइलो छ ? अनुशासनको कारबाही अहिलेको वर्तमान राष्ट्रपति र पूर्व हाम्रो पार्टीको नेता रामचन्द्र दाईले बोलेको कुरा सम्झना गर्छु धरानको एउटा कार्यक्रममा बोल्नुभएको थियो । ३ भारी खर काट्ने र ३ भारीमा आगो लगाउने । मान्छेलाई एउटै ढङ्गबाट हेरिन्छ भने त्यसको के मूल्याङ्कन हुन्छ ? अनुशासनको गम्भीर उल्लंघन गरेको भनेर कारबाहीको सिफारिस गरिएका मान्छेहरूलाई…म कसैप्रति लाञ्छना लगाउन गइरहेको छैन । कसैन कसैले बोल्नुपर्छ ।’

‘बिरालेको घाँटीमा घण्टी झुण्ड्याउने । अनि घण्टी झुण्ड्याउने कसले ? एकथरी कारबाही गर्नतिर लाग्ने, एकथरी अनुशासन उल्लंघन गर्नेहरू पुरस्कृत भइरहने । अनि अनुशासनमा बसेका मान्छेहरू अनुशासन उल्लंघन गरेकाहरूको एउटै मूल्याङ्कन हुने हो भने विकृति जन्मिन्छ । तपाईहरूको कोर्टमा छ है बल’, खतिवडाले भनिन् ।

‘कांग्रेसभित्र अन्तरघातको बीउ हिजो रोपिएको थियो । अहिले खुलम खुला अराजक र अनुशासनहीनताको पराकाष्ट छ । तपाईहरूलाई लागेको होला म त सभापतिको विरुद्धमा हुँ । भोलि सभापति हुनेहरूले सोँच्नु होला’, उनले भनिन् ।

‘भ्रातृ संस्थाहरूको बिजोग । नर्सरी सार्न ढिलो भो । तरुण दलभन्दा पनि नेविसंघ एकदम मुर्झाएको अवस्थामा छ । ढिलो नगर्नु होला । लाग्नु होला । पार्टीभित्रको गुट भनेको आफूलाई जहाँ सहज हुन्छ त्यहाँ बस्ने हो । हिजो को को कहाँ कहाँ हुनुहुन्थ्यो हामी कहाँ कहाँ थियौँ, आज कहाँ कहाँ छौँ ? धेरै टाउको नदुखाउँ’, उनले भनिन् ।

‘क्षमता भएका मान्छेलाई जसको जहाँ क्षमता छ, दौडन सक्नेलाई दौडन लगाऔँ, टेबल वर्क गर्नेलाई टेबल वर्क गर्न लगाऔँ । कुटनैतिक डाइलग गर्नेलाई कुटनैतिक डाइलग गर्न लगाऔँ । तेरो र मेरो भनेर जिम्मेवारी बाँडफाँड गरौँ । १८ घण्टा खट्ट सक्छौँ । पार्टी बलियो भने हामी सबै बलियो हुने हो । पार्टी कमजोर भयो भने व्यक्ति एक्लै बलियो भएर केही हुँदैन’, नेतृ खतिवडाले भनिन् ।

Published : Saturday, 2024 August 10, 1:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया