प्रधानमन्त्रीद्वारा विवाद नगरी सहमति र सहकार्यबाट जनताको काम गर्न लुम्बिनी सरकारलाई सुझाव
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको बताएका छन् ।
आइतबार बालुवाटारस्थित निवासमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, अर्थमन्त्री विष्णु पौडेल, मन्त्रीहरू र एमालेका महासचिव शंकर पोखरेलसँगको सामूहिक भेटका क्रममा प्रधानमन्त्री ओलीले अहिलेको सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताए ।
प्रधानमन्त्री ओलीले सरकार सञ्चालन गर्दा कसले कति भाग लिने भन्ने खालको विवाद नगरी सहमति, सहकार्य र जनताका लागि परिणाम दिने मुख्य विषयलाई ध्यानमा दिन सुझाव दिएका छन् ।
पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई सुझाव दिएको प्रधानमन्त्री ओलीलाई उदृत गर्दै लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले बताएका छन् ।
उपयुक्त माटोमा उन्नत जातका बाली लगाएर कृषिलाई औद्योगीकरण गर्न आग्रह गरे ।
ओलीले भने, ‘अहिले समग्र अर्थतन्त्र ओरालो लागेको छ । भवन, कार्यालयलगायत भौतिक संरचना निर्माणमा खर्च गरेर तत्काल उत्पादन वृद्धि हुन सक्दैन ।’
‘हामीसँग उर्वर धर्ती, पानी र हावापानी छ । मेहनत गरेर उत्पादन र रोजगारी बढाउन सकिने धेरै आधारहरू छन्’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता काममा हाम्रा राजनीतिक दलका सङ्गठन र कार्यकर्ता पनि लाग्नुपर्छ । सबै मिलेर नागरिकका समस्या समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ ।’
ओलीले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ, तरकारी निर्यात र आयात नगर्न आग्रह गरेका छन् । जनतालाई स्वस्थ राख्न खाना स्वस्थ हुनुपर्ने भन्दै ओलीले अशुद्ध र विषादीयुक्त खाद्य पदार्थ आयात, निर्यातमा रोक लगाउने व्यवस्था गर्न आग्रह गरेका छन् ।
उनले हाल घाटा बजेटमा सरकार सञ्चालन भइरहेको बताएका छन् । आफूहरूले छोडेर जाँदा यस्तो अवस्थाको अन्त्य गराउने गरी काम गर्न ओलीले सबैलाई आग्रह गरेका छन् ।
अहिलेको समीकरण र सरकार मुलुकको विशेष अवस्थाका कारण बनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो सरकारले मुलुकमा विद्यामान समस्या पहिचान गरी समाधान निकाल्ने योजनासहित काम गरिरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया