सभापति देउवासँग भारतीय विदेश सचिव मिस्रीद्वारा भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले भेटवार्ता गरेका छन् ।

आइतबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवा र विदेश सचिव मिस्रीबीच दुई देशबीचको आपसी सम्बन्ध थप बलियो बनाउने विषयमा छलफल भएको हो ।

यसअघि, विदेश सचिव मिस्रीले प्रधानमन्त्री केपी ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूसँग भेटवार्ता गरेका थिए ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री नेपाल आएका हुन् ।

अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।

विदेश सचिव मिस्री दुईदिने भ्रमणका लागि आइतबार बिहान काठमाडौं आइपुगेका हुन् । मिस्री सोमबार साउन २८ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Published : Sunday, 2024 August 11, 11:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया