कांग्रेसको बैठक शुक्रबारसम्म स्थगित, क–कसले धारणा राखे ?
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ ।
सोमबार वीपीनगर,ललितपुरमा बसेको कार्यसमितिको बैठकमा सदस्यहरूले विभिन्न ११ वटा प्रस्तावित विषयहरूमा टिप्पणी गरेका छन् ।
‘उच्च सम्मान साथ श्रद्धासुमन राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति अविचलित निष्ठा, सादा र सरल जीवनशैली तथा उच्च नैतिक र चारित्रिक बलद्वारा राष्ट्रिय राजनीतिमा शीर्षस्थ स्थान बनाउन सफल नेता नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाको जन्म वि.सं. १९९६ श्रावण २८ गते भएको थियो ।
संक्रमणकालिन राजनीतिक परिस्थितिमा संविधानसभाबाट नेपालको संविधान जारी गर्ने शीर्षस्थ नेताको रूपमा उहाँले निर्वाह गर्नु भएको भूमिका अतुलनीय र अविस्मरणीय छ । आज उहाँको जन्म जयन्तीका अवसरमा कार्यसमितिको यो बैठक उहाँप्रति उच्च सम्मान साथ श्रद्धासुमन अर्पण गर्दछ’, कांग्रेसले भनेको छ ।
बैठकमा केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, मीनेन्द्र रिजाल, एन.पी. साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, गोपाल दहित, मधु आचार्य, उमेशजंग रायमाझी, अर्जुनजंगबहादुर सिंह, रामहरि खतिवडा, विनोदकुमार चौधरी, रंगमती शाही, नानु बास्तोला, माया राई, रूपा विक र अनिलकुमार रुंगटाले आ–आफ्नो धारणा राखेका थिए ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र ऊर्जा, जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङले बैठकमा आफ्नो धारणा राखेका छन् ।
केन्द्रीय कार्यसमितिको बैठक २०८१ भदौ ७ गते शुक्रबार बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया