परराष्ट्रमन्त्री डा.राणाको निर्देशनमा पोर्चुगलमा राहदानीको घुम्ती सेवा, ४ हजार नेपालीले लिए सेवा
पेरिस । नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाडौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्बनमा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न भएको छ ।
२ अगस्टदेखि १३ अगस्टसम्म घुम्ती सेवा सञ्चालन गरिएको पेरिस राजदूतावासबाट जारी विज्ञप्तिमा उल्लेख छ । परराष्ट्रमन्त्री डा.आरजु राणाको निर्देशनमा पोर्चुगलमा रहेका नेपालीहरूका लागि घुम्ती शिविर सञ्चालन गरिएको छ ।
घुम्ती सेवाबाट ३ हजार ८ सय २९ जना नेपालीहरूले आफ्नो राहदानी नवीकरणको सेवा लिएका छन् ।
जसमा १२१ जना नाबालक, ३३८० नवीकरण र हराएका ३२८ जनाको रहेका छन् । राहदानी सेवा सञ्चालनबाट ४ लाख ९१ हजार ५ सय ८० यूरो अर्थात् ७ करोड २० लाख ११ हजार ५ सय ५४ नेपाली रुपियाँ बराबरको राजस्व संकलन भएको छ ।
घुम्ती सेवामा राहदानी विभागका निर्देशक र शाखा अधिकृत तथा नेपाली राजदूतावास पेरिसबाट तृतीय सचिव रस्थानीय कर्मचारी सहभागी भएका थिए ।
घुम्ती सेवाको व्यवस्थापन गैर आवासीय नेपाली संघको राष्ट्रिय समन्वय समिति पोर्चुगलले गरेको थियो । पोर्चुगलस्थित नेपाली अवैत्तनिक महावाणिज्यदूतावास, पोर्चुगलमा रहेका विभिन्न सामाजिक संघ संस्थाहरूले आ–आफ्नो स्थानबाट विभिन्न भूमिकामा सहयोग गरेको विज्ञप्तिमा उल्लेख छ ।
पोर्चुगलमा हाज ५० हजारभन्दा बढि नेपालीहरू बसोबास गर्दै आएका छन् । तत्कालमा समस्याको रुपमा देखिएको कागजात प्रमाणीकरण सम्बन्धी समस्या समाधान गर्न नेपाली राजदूतावास, पेरिस गम्भीर रहेको भन्दै यस्ता समस्या समाधान गर्न राजदूतावास प्रयत्नशील रहेको विज्ञप्तिमार्फत जनाइएको छ ।
घुम्ती शिविरमा आई आवेदन गरी तथा हालसम्म विभिन्न शिविर तथा प्रत्यक्ष रुपमा पेरिसमा आएर आवेदन गरी तयार भएका तर, बुझिलिन बाँकी रहेका राहदानीहरू वितरण गर्ने तथा नवीकरणको लागि छुट भएका नेपालीहरूको राहदानी नवीकरण गर्ने गरेर छिटै राहदानी विभागसँग समन्वय गरी अर्को शिविर सञ्चालन गर्न दूतावासले प्रयत्न गर्ने प्रतिवद्धता दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया