नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले नागरिकले सरकारको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अंग प्रहरी प्रशासन भएको बताएका छन् ।

बुधबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको नवनिर्मित भवनको उद्घाटन गर्दै लामाले नागरिकलाई राज्यबाट प्रदान गरिने पहिलो सेवा प्रहरी सेवा नै भएको बताए ।

लामाले नागरिकले आफूबाट समस्याको समाधान नभएपछि राज्यको सहयोगको अपेक्षा गर्ने बताएका छन् ।

उनले प्रहरीको व्यवहारबाट समग्रमा राज्यतर्फ नागरिकको धारणा तय हुने बताएका छन् ।

प्रहरीको भौतिक पूर्वाधार विकास एवं साधन स्रोत सम्पन्न बनाउनको लागि सरकारले विगतदेखि नै प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री लामाले बताएका छन् ।

प्रदेश सरकारबाट हालसम्म ७१ वटा भौतिक संरचनामा बजेट विनियोजन गरी ६५ वटा निर्माण सम्पन्न गरेको र ६ वटा निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

मुख्यमन्त्री लामाले बागमती प्रदेश प्रहरी कार्यालयको सुविधा सम्पन्न ३ तले भवनको उद्घाटन गरेका छन् ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ चरणको बजेटबाट उक्त भवनको निर्माण गरिएको हो । दुई चरण गरी २० करोड ५४ लाख ५२ हजार रुपियाँ लागतमा भौतिक संरचनाको निर्माण सम्पन्न गरिएको छ ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाको ७ बिगाहा ४ कट्ठा क्षेत्रफलभित्र आरसिसि फ्रेम स्ट्रक्चर अवधारणा अनुसार ५५४३÷०५ वर्ग मिटर क्षेत्रफलमा बेसमेन्टसहित साढे पाँच तले कार्यालय ब्यारेक भवन निर्माण भएको छ ।

पहिलो चरणमा २०७८ वैशाख २६ गते आरआर अर्वन विल्डर्स एण्ड सप्लायर्सले भवन निर्माणको सम्झौता भएको थियो भने दोस्रो चरणमा १७ करोड ५१ लाख २७ हजार रुपियाँमा निर्माण सम्पन्न गर्ने गरी २०७८ चैत्र २८ गते हनुमान कन्स्ट्रक्सन हेटौँडाले बाँकी कामको निर्माण सम्झौता गरेको थियो ।

भवनको भौतिक पूर्वाधारहरूको निर्माण कार्यको लागि प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट २५ करोड ३० लाख ७२ हजार रुपियाँको लागत अनुमान बहुबर्षीय योजना अन्तर्गत स्वीकृत गरिएको थियो ।

Published : Wednesday, 2024 August 14, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया