कांग्रेस–एमालेको पहलमा पारित टीआरसी विधेयकलाई अमेरिकाद्वारा स्वागत
काठमाडौं । अमेरिकाले प्रतिनिधि सभाबाट पारित भएको सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रति खुसी व्यक्त गरेको छ ।
बुधबार नेपालस्थित अमेरिकी राजदूत डीन आर थोम्प्सनले सामाजिक सञ्जाल एक्समार्फत शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने गरी टीआरसी विधेयक संसदबाट पारित भएकोमा खुसी जनाएका हुन् । उनले यो विधेयक पारित गरेकोमा नेपाली जनतालाई धन्यवादसमेत दिएका छन् ।
अमेरिकाले टीआरसी विधेयक पारित हुनुलाई नेपालको आफ्नै शान्त, समृद्ध, लोकतान्त्रिक भविष्य निर्माणको यात्राको संज्ञा पनि दिएको छ ।
‘सङ्क्रमणकालीन न्याय विधेयक आज प्रतिनिधिसभाबाट पारित भएकोमा खुसी लागेको छ’, राजदूत थोम्पसनले भनेका छ्, ‘बधाई छ नेपाली जनतालाई । यो अमेरिकाले नेपालको आफ्नै शान्त, समृद्ध लोकतान्त्रिक भविष्य निर्माण गर्ने यात्राको अर्थपूर्ण क्षण हो ।’
बुधबार प्रतिनिधि सभाको बैठकमा बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पास भएको थियो । प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ ।
शीर्ष तीन दलको कार्यदलले विवादिद विषयमा सहमति जुटाएपछि कानून न्याय तथा मानवअधिकार समितिले विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा पेश गरेको थियो ।
२०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया