लेदोसहितको थामे खोलाको बाढी गाउँमा प्रवेश, ठूलो क्षति

थामे । थामे खोलामा आएको बाढीका कारण सोलुखुम्बुको खुम्बु पासाङल्हमु गाउँपालिका ५ थामेमा १२ घरसहित स्कुल र क्लिनिकमा क्षति पुगेको छ ।

बाढीमा एक स्थानीय बेपत्ता भएका छन् । दोलखा र सोलुखुम्बुको सिमाना भई बग्ने थामे खोलाको सिरदेखि नै एक्कासि पानीको बहाव बढ्दा थामे १२ घर, होटलसहित बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी द्वारिकाप्रसाद घिमिरेले बताए ।

दिउँसोको घटना भएकाले अन्य मानवीय क्षति भने हुन पाएन । थामे खोलामा आएको लेदोसहितको बाढीले क्षति भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् डीआइजी दानबहादुर कार्कीले बताएका छन् । उनले एक जना बेपत्ता भएको भन्ने प्रारम्भीक जानकारी आएको र उद्धारमा प्रहरीसहितका सुरक्षाकर्मी परिचालन भएको बताए ।

घटनास्थलमा नेपाली सेना र नेपाल प्रहरीको टोली पुगिसकेको छ । दुधकोशी नदीको तल्लो तटीय क्षेत्र भने खतरामुक्त रहेको छ ।

थामे खोलको शिरमा रहेका हिमताल फुटेर या कुनै पहाड खसेर बाढी आएको हुन सक्ने खुम्बु पासाङल्हमु गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिए ।

सिंगो थामेमा बाढी पसेको हुनाले उक्त क्षेत्रका ७ वटा घर अझै जोखिम पूर्ण अवस्थामा छन् । थामेमा सञ्चार र विद्युत् सेवा प्रभावित बनेको छ । बाढीले दुधकोशी नदी बहने सोलुखुम्बु र खोटाङ क्षेत्रका नागरिक त्रसित छन् ।

Published : Saturday, 2024 August 17, 12:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया