एआई प्रविधिबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडियो र तस्बर बनाइ चरित्रहत्या गर्ने रावत पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर व्यूरोले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोगबाट विशिष्ट व्यक्तिहरूको नक्कली भिडिओ र तस्बिर बनाइ चरित्रहत्या गरेको अभियोगमा २२ वर्षीय रमेशबहादुर रावतलाई पक्राउ गरेको छ ।

आइतबार व्यूरोले जारी गरेको विज्ञप्तिअनुसार बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का रावतलाई सिन्धुपाल्चोककाबाट पक्राउ गरिएको हो ।

रावतलाई व्यूरोको प्राविधिक टोलीले साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

रावतले एआईको दुरूपयोग गरी विशिष्ट व्यक्तिहरूको चरित्रमा निर्मम आघात पुर्‍याउने तथा कपोकल्पित भ्रामक श्रश्य दृश्य सामग्री तयार गरेको आरोपमा पक्राउ गरिएको साइबर ब्युरोको प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल, अन्य डिजिटल प्लेटर्फम र एआई लगायतका प्रविधिहरूको दुरुपयोग गरी विशिष्ट व्यक्तिहरूलाई लक्षित गरी चरित्रमा निर्मम आघात पुर्‍याउने उद्देश्यका साथ अतिरञ्जित तवरबाट कपोकल्पित र भ्रामक विषयमा श्रव्य–दृश्य सामग्री तयार तथा प्रसारण गरी सामाजिक, पारिवारिक तथा राजनैतिक चरित्रहत्या गरेको विषयका सम्बन्धमा व्यूरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उक्त कार्य गर्ने व्यक्ति बाजुराको खप्तड देडेदह गाउँपालिका वडा नं. ५ स्थायी वतनका अन्दाजी वर्ष २२ को रेशमबहादुर रावत खुल्न आएको हुँदा निज उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकको सहयोगमा साउन ३२ गते सिन्धुपाल्चोकबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंको आदेशमा दिन ५ थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।’

रावतविरूद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को कसूर अनुसार काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ ।

Published : Sunday, 2024 August 18, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया